२०८३ आश्विन ९
आकस्मिक अवस्थामा स्वास्थ्य सेवा निरन्तरता, जनशक्ति परिचालन र स्रोत व्यवस्थापनमा जोड
बुटवल । बुटवल हस्पिटल प्रा.लि.ले सम्भावित विपद् तथा आपत्कालीन अवस्थाका बेला प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न डिजास्टर म्यानेजमेन्ट कमिटी गठन गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालको नेतृत्वमा गठन गरिएको समितिमा अस्पतालका विभिन्न विभागका प्रमुख तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीलाई समेटिएको छ। विपद्का समयमा अस्पतालको सेवा निरन्तरता कायम राख्ने, आकस्मिक बिरामीको व्यवस्थापन गर्ने तथा उपलब्ध जनशक्ति र स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले समिति गठन गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विपद् व्यवस्थापनका विभिन्न पक्षमा छलफल गरिएको थियो। कार्यक्रममा आकस्मिक बिरामी व्यवस्थापन, जनशक्ति परिचालन, बेड तथा भौतिक स्रोतको व्यवस्थापन, आपत्कालीन सञ्चार प्रणाली र अस्पतालका विभिन्न विभागबीचको समन्वयलगायतका विषयमा छलफल भएको थियो।
हाल देखिन सक्ने विभिन्न प्रकारका विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै अस्पताललाई थप तयारी अवस्थामा राख्ने विषयमा कार्यक्रममा विशेष जोड दिइएको थियो। सम्भावित विपद्का बेला आवश्यक पर्ने जनशक्ति, उपकरण, बेड तथा अन्य स्रोत–साधनको पहिचान गरी आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको थियो।
मेडिकल सुपरिटेन्डेन्ट डा. खनालले विपद् व्यवस्थापनमा पूर्वतयारी नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए। उनले विपद्का बेला अस्पतालका सबै विभाग र कर्मचारीबीच प्रभावकारी समन्वय हुन सकेमा बिरामीलाई छिटो र प्रभावकारी सेवा दिन सकिने उल्लेख गरे।
उनका अनुसार सम्भावित विपद्का अवस्थामा बिरामीको उद्धार, प्राथमिक उपचार, ट्रायाज, आकस्मिक शल्यक्रिया तथा उपचार सेवा, जनशक्ति परिचालन र आवश्यक स्रोत–साधन व्यवस्थापनलाई व्यवस्थित बनाइनेछ। यसका लागि अस्पतालको विद्यमान संरचना र क्षमताको समीक्षा गर्दै आवश्यक सुधार तथा तयारी अघि बढाइने उनले बताए।
अस्पतालका अध्यक्ष पौडेलले विपद्का समयमा अस्पतालको भूमिका अझ महत्वपूर्ण हुने भएकाले जुनसुकै आपत्कालीन परिस्थितिको सामना गर्न सक्ने गरी अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताए। उनले विपद् व्यवस्थापनलाई नियमित कार्यप्रणालीकै एक महत्वपूर्ण हिस्साका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै त्यसअनुसार तयारी अघि बढाउन निर्देशन दिए।
समितिले आगामी दिनमा विपद् व्यवस्थापनसम्बन्धी कार्ययोजना तयार गर्ने, आवश्यक अभ्यास (मक ड्रिल) सञ्चालन गर्ने तथा अस्पतालको आपत्कालीन तयारी अवस्थाको नियमित समीक्षा गर्ने जनाएको छ। यसबाट विपद्का बेला सम्भावित चुनौतीको सामना गर्दै बिरामीलाई छिटो, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा अस्पतालका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख विक्रम खड्का, सञ्चालक चन्द्रकान्त शर्मालगायतले विपद् व्यवस्थापन तथा अस्पतालको आकस्मिक तयारीका विषयमा धारणा राखेका थिए।
बुटवल हस्पिटल प्रा.लि. १ सय शय्या क्षमताको यस क्षेत्रकै सुविधा सम्पन्न अस्पतालका रूपमा सञ्चालनमा रहेको छ। अस्पतालले नियमित स्वास्थ्य सेवासँगै सम्भावित विपद् तथा आपत्कालीन अवस्थाका लागि संस्थागत तयारीलाई प्राथमिकता दिएको जनाएको छ।