२०८३ आश्विन १९

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक, असोज २६ मा मतदान
  • लुम्बिनी खोज
  • २०८३ आश्विन १९, सोमबार १५:५६ गते

अध्यक्षसहित पदाधिकारी र १७ कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै, उम्मेदवारी शुल्क २५ हजारदेखि १ लाख रुपैयाँसम्म

बुटवल, १९ असोज ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। संघको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २६ गते मतदान हुने भएको छ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार असोज २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान सञ्चालन हुनेछ। निर्वाचनका लागि पहिलोपटक असोज १५ गते नै मतदाता नामावली प्रकाशन गरिएको थियो। मतदाता नामावलीमाथि दाबी–विरोधका लागि असोज २१ गते दिउँसो ३ बजेसम्मको समय तोकिएको छ भने सोही दिन दिउँसो साढे ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

संघको अधिवेशनअन्तर्गत असोज २३ गते साधारण सभाकै दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारी मनोनयनपत्र वितरण गरिनेछ। त्यसपछि साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। सोही दिन राति ८ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारविरुद्ध दाबी–विरोधका लागि असोज २४ गते बिहान ८ देखि ९ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले सोही दिन बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। त्यसपछि बिहान साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिका अनुसार कुनै पदमा एकभन्दा बढी उम्मेदवारी परेमा अन्तिम उम्मेदवारको नामावली र मतपत्रमा नाम अंग्रेजी वर्णानुक्रमअनुसार राखिनेछ।

अध्यक्षसहित २४ पदमा निर्वाचन

अधिवेशनबाट संघको आगामी कार्यकालका लागि अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सहकोषाध्यक्ष पदमा निर्वाचन हुनेछ। त्यस्तै कार्यसमिति सदस्यतर्फ उद्योग क्षेत्रबाट ४, वाणिज्य क्षेत्रबाट ४, महिलाबाट २ र खुलातर्फ ७ जना गरी १७ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

निर्वाचनमा उम्मेदवारी दिनका लागि विभिन्न पदअनुसार शुल्कसमेत निर्धारण गरिएको छ। प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार अध्यक्ष पदका लागि १ लाख रुपैयाँ, अन्य पदाधिकारीका लागि ५० हजार रुपैयाँ, एसोसिएट सदस्यका लागि ४० हजार रुपैयाँ र सदस्य पदका लागि २५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। उम्मेदवारी शुल्क फिर्ता नहुने निर्वाचन समितिले जनाएको छ।

यसैबीच बुटवल उद्योग वाणिज्य संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन असोज २३ देखि २६ गतेसम्म सञ्चालन हुँदैछ। अधिवेशनअन्तर्गतका कार्यक्रमसँगै निर्वाचन प्रक्रिया अघि बढ्ने र असोज २६ गते मतदान सम्पन्न भएपछि नयाँ नेतृत्व चयन हुने निर्वाचन समितिले जनाएको छ।