२०८३ आश्विन २२
प्रथम त्रैमासिक परीक्षाका उत्कृष्ट विद्यार्थी पुरस्कृत
बुटवल, २१ असोज ।
नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा व्यवस्थापन समूहमा अध्ययनरत विद्यार्थीलाई पठनपाठन व्यवस्थापन तथा सुधारसँगै सडक सुरक्षा र ट्राफिक सचेतनासम्बन्धी विषयमा सहजीकरण गरिएको छ । सोही अवसरमा प्रथम त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा सम्पन्न भएपछि कक्षा १२ व्यवस्थापन समूहअन्तर्गत होटल व्यवस्थापन विषय अध्यापन हुने छवटा सेक्सनका विद्यार्थीलाई पहिलो चरणमा र होटल व्यवस्थापनबाहेक कक्षा १२ मा अध्ययनरत छवटा सेक्सनका विद्यार्थीलाई दोस्रो चरणमा सहजीकरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीलाई वर्णविन्यास, भाषिक शुद्धता, व्यावहारिक निवेदन लेखन, व्यक्तिगत विवरण लेखन, शनिबारीय परीक्षामा सक्रिय सहभागिता, समयको पालना, व्यवस्थापन, अनुशासन तथा पठनपाठन तालिकाको पूर्ण कार्यान्वयनलगायतका विषयमा जानकारी दिइएको थियो ।
त्यस्तै, सडक सुरक्षा तथा ट्राफिक सचेतनासम्बन्धी विषयमा पनि विद्यार्थीलाई व्यावहारिक जानकारी दिइएको थियो । फुटपाथ भएको तथा नभएको सडकमा पैदलयात्रीले प्रयोग गर्ने साइड, सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, पोलिकन क्रसिङ, ओभरहेड ब्रिज, जेब्राक्रसिङ, ट्राफिक आइल्यान्ड, सर्भिस लेन, मास ट्रान्जिट, राडार गन, ब्ल्याक स्पट, एएनपीआर क्यामेरा र साङ्ले क्रसिङलगायतका विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा ट्राफिकका नियामक, सचेतात्मक तथा जानकारीमूलक चिन्हबारे पनि विद्यार्थीलाई जानकारी गराइएको थियो । नियामक चिन्ह गोलो आकारका ३० वटा, सचेतात्मक चिन्ह त्रिकोण आकारका ४३ वटा तथा जानकारीमूलक चिन्ह चारपाटे आकारका १८ वटा रहेको जानकारी दिइएको थियो ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अनिलकुमार ठाकुर, शिक्षक–अभिभावक संघका सदस्य वीरबहादुर क्षेत्री तथा एनएमबी बैंक नम्बर ४ शाखाका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अनिल ठाकुर, सहायक प्रधानाध्यापक अर्जुन खनाल, होटल व्यवस्थापन विषयका संयोजक आशिष केसी र नीलकण्ठ न्यौपानेलगायतले सहजीकरण गरेका थिए । विद्यार्थीका तर्फबाट हिमाली राकस, अमित शर्मा, सदिक्षा ज्ञवाली, इरान परियार र अक्सद थापालगायतले प्राप्त अनुभवबारे धारणा राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रम व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थको सञ्चालनमा सम्पन्न भएको थियो ।


