२०८३ आश्विन २१
बुटवल, २१ असोज ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ। ‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ नारासहित सार्वजनिक गरिएको प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’लाई आफ्नो मुख्य संकल्प बनाएको छ।
पौडेल नेतृत्वको प्यानलले अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यका उम्मेदवार सार्वजनिक गर्दै व्यवसायीका समस्या समाधान, उद्योग–व्यवसायको सुरक्षा, पूर्वाधार विकास, कर तथा राजस्व प्रणालीमा सहजीकरण, लगानी प्रवद्र्धन र संघको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। सोही अवसरमा २० बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिएको छ।
पदाधिकारीमा को–को ?
प्यानलबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल उम्मेदवार बनेका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा उम्मेदवार छन्।
यसैगरी महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार रहेका छन्।
सदस्यतर्फ पनि प्यानल
पौडेल नेतृत्वको प्यानलले कार्यसमिति सदस्यतर्फ पनि विभिन्न क्षेत्रका उम्मेदवार घोषणा गरेको छ।
एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु) उम्मेदवार छन्।
उद्योग सदस्यतर्फ सुनिता बन्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी उम्मेदवार रहेका छन्।
वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी उम्मेदवार छन्।
त्यस्तै महिला सदस्यतर्फ रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्याय उम्मेदवार रहेका छन्।
२० बुँदे प्रतिबद्धता
पौडेल नेतृत्वको प्यानलले सार्वजनिक गरेको २० बुँदे प्रतिबद्धतामा कर तथा राजस्व प्रणालीमा सहजीकरण, व्यवस्थित पार्किङ तथा ट्राफिक व्यवस्थापन, औद्योगिक क्षेत्र र उद्योगको संरक्षण, अधुरा पूर्वाधार विकास योजनालाई गति, व्यवसायीको सुरक्षा र शान्तिपूर्ण व्यापारिक वातावरणलाई प्राथमिकता दिइएको छ।
त्यस्तै बुटवललाई प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा विकास गर्ने, पर्यटन तथा व्यापारको सम्बन्ध विस्तार गर्ने, डिजिटल व्यापारलाई प्रवद्र्धन गर्ने, बैंक तथा वित्तीय संस्थासँग प्रभावकारी संवाद गर्ने, भन्सार तथा आयात–निर्यात प्रक्रिया सहजीकरण गर्ने र स्थानीय उत्पादनको बजार विस्तार गर्ने एजेण्डा अघि सारिएको छ।
युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन, साना तथा मझौला व्यवसायको संरक्षण, महिला उद्यमशीलता, व्यवसायीका लागि एकद्वार सहायता प्रणाली, संघको पारदर्शिता तथा संस्थागत सुधारलाई समेत प्रतिबद्धतामा समेटिएको छ।
असोज २६ गते मतदान
बुटवल उद्योग वाणिज्य संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशन असोज २३ देखि २६ गतेसम्म हुँदैछ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। अध्यक्षसहित पदाधिकारी र १८ कार्यसमिति सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ।
संघको निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष गरी ८ पदाधिकारी तथा उद्योगतर्फ ४, वाणिज्यतर्फ ४, महिलातर्फ २ र खुलातर्फ ७ गरी १८ सदस्य निर्वाचित हुनेछन्।
पौडेल नेतृत्वको टोलीले २० बुँदे प्रतिबद्धतालाई चुनावी घोषणामा मात्र सीमित नराखी उद्योगी–व्यवसायीका साझा समस्या र एजेण्डाका रूपमा कार्यान्वयन गर्ने जनाएको छ। संवाद, सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीका आधारमा संघलाई अघि बढाउने उसको प्रतिबद्धता छ।


