२०८३ मंसिर ६

कालिकाका शिशिर एमबीबीएस प्रवेश परीक्षामा देशकै टप १० मा
  • लुम्बिनी खोज
  • २०८३ मंसिर ५, शुक्रबार ०८:४८ गते

पूर्ण छात्रवृत्तिमा १८ विद्यार्थी सफल

बुटवल, ४ मंसिर ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थी शिशिर मल्लले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षामा देशभरबाट दसौँ स्थान हासिल गरेका छन्। एसईईमा ४ जीपीए प्राप्त गरेका मल्लले कक्षा ११ र १२ पनि सोही विद्यालयमा विज्ञान सङ्कायमा अध्ययन गरेका थिए।

मल्लसहित विद्यालयका १८ विद्यार्थीले एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिका लागि नाम निकाल्न सफल भएका छन्। सार्वजनिक नतिजाअनुसार निश्चल जीसीले ३५औँ र आयुष पाण्डेले ३९औँ स्थान हासिल गरेका छन्।

विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीका अनुसार सम्राट मरासिनीले ६९औँ, अजयकुमार चौधरीले ९१औँ, आकाश मिश्रले १५६औँ, आदित्य भण्डारीले १६१औँ, ईशान ज्ञवालीले १८६औँ र गणेश पन्थीले २०८औँ स्थान प्राप्त गरेका छन्।

त्यस्तै बिपिशा अर्यालले २२५औँ, शिवनाथ यादवले २७८औँ, दीपक केसीले ३०९औँ, सम्पदा गौतमले ३३८औँ, बालकृष्ण कोहारले ३५४औँ, अर्जुन रिजालले ३५६औँ, राजीव अग्रहरीले ३७०औँ, इन्द्रबहादुर भुजेल मगरले ३८१औँ र अंकित तिवारीले ३९२औँ स्थान हासिल गरेका छन्।

विद्यालयका विज्ञान सङ्काय संयोजक कृष्ण अधिकारीले योजनाबद्ध पठनपाठन, नियमित मूल्याङ्कन र अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा सहयोग पुगेको बताए। उनका अनुसार कक्षा ११ र १२ देखि नै विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षाका लागि आवश्यक आधार तयार गराउने गरिएको छ। एकैपटक १८ विद्यार्थीले देशभरको प्रतिस्पर्धामा उत्कृष्ट ४०० भित्र स्थान हासिल गर्नु विद्यालयका लागि महत्त्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे। अन्य क्लस्टरका विद्यार्थीसमेत जोड्दा सफल हुनेको सङ्ख्या ३५ भन्दा बढी पुग्ने उनको भनाइ छ।

प्रधानाध्यापक ज्ञवालीले विद्यार्थीको मेहनत, अभिभावकको विश्वास र शिक्षकको समर्पणका कारण विद्यालयले गौरवपूर्ण सफलता हासिल गरेको बताए। उनले सामुदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सक्छन् भन्ने यस नतिजाले प्रमाणित गरेको उल्लेख गरे।

सामुदायिक विद्यालयतर्फ नमुना विद्यालयका रूपमा परिचित कालिका मानवज्ञान माध्यमिक विद्यालयले चिकित्सा शिक्षा प्रवेश परीक्षामा हासिल गरेको यो सफलताले विद्यालयको शैक्षिक पहिचानलाई थप बलियो बनाएको छ।