२०८२ कार्तिक २८
बुटवल ।
स्वदेशी चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् ।
आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदर्शनीको उदघाटन गरेका थिए । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एशोसिएशन नेपाल, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टि एशोसिएशन नेपालमा आवद्ध एक सय बढी ब्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरु राखिएका छन् ।
कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।
लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन वृद्धिलाई महत्व दिएको उल्लेख गर्दै उनले बिदेशी उत्पादन निरुत्साहित गर्दै लैजाने बताए ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले आम नागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बारेमा बजार बिस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए ।
नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिक रुपमा सबल हुन सक्ने सम्भावना रहेको उनको भनाई छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दिपक खनालले नेपालबाट ठूलो परिमाणमा चिया निर्यात हुने गरेको बताउँदै बोर्डले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि पहिलोपल्ट चिया प्रदर्शनी कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले स्वदेशी उत्पादनको प्रयोगलाई बढाउन, स्वदेशी चियाको आम उपभोक्तामाझ जनचेतना जगाउन र आम नेपालीमा स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नका लागि पनि यो प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल टि एशोसिएशनका कमल मैनालीलगायतले पनि मुलुकको आर्थिक उन्नती र समृद्धिको यात्रालाई अघि बढाउन स्वदेशी उत्पादन बढाउनुपर्ने र निर्यातमा वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शनीमा ३० वटा स्टलहरु राखिएका छन् । कार्यक्रम शनिबार सम्म चल्ने छ ।


