२०८१ मंसिर ३

रुपन्देहीमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना
  • लुम्बिनी खोज
  • २०७९ आश्विन १०, सोमबार १०:०६ गते

बुटवल ।
रुपन्देही प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, दीपावली र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापन गर्न चाडपर्व अवधिभर १ हजार २ सय ४८ जना प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ । भैरहबामा पत्रकार संम्मेलन गरेर चाडपर्वमा हुन सक्ने विसंगति, विकृतिविरुद्ध प्रहरी परिचालन गरेको र नेपाल ( भारत सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने रुपन्देही प्रहरीले बताएको छ । चाडपर्वको समयमा बढी पटका, आतिसबाजीको प्रयोग हुने भएकोले सोको नियन्त्रणमा पनि प्रहरी कडाइका साथ प्रस्तुत हुने जनाएको छ । चाडपर्वमा जुवालाई नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गर्ने प्रहरीको योजना छ । जुवा, चन्दालगायतका गतिविधिहरूको गोप्य रूपमा सूचना संकलन गरी कारबाहीको दायरामा ल्याउने प्रहरी प्रमुख रबिन्द्र रेग्मीले जानकारी दिए । यस्तै राजमार्गलक्षित गरी रातिको समयमा गस्ती बढाउने योजना रहेको डिएसपी श्यामु अर्यालले जनाए । बन्द रहने सरकारी कार्यालय, तथा संघ–संस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरूसँग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाइनेछ । प्रहरीका विभिन्न युनिटहरूले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्यनजर राखी पैदल, साइकल, मोटरसाइकल र गाडी गस्ती परिचालन गर्नेछ ।