२०८३ भाद्र ३०
बुटवल ३० भदौ ।
नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोर्दै गरेको अवस्थामा ट्याकंरसहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित दुईवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक आशिष विश्वकर्माका अनुसार टंयाकरसहित २ ब्यक्ति पक्राउ पनि परेका छन् ।
आज मंगलवार गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
सो क्रममा उक्त स्थानबाट अर्को एक ट्याङ्कर फरार भएकोमा प्रहरीले पछ्याई नियन्त्रणमा लिन सफल भएको छ । फरार भएको उक्त ट्याङ्कर लु १ ख ६६१९ नम्बरको रहेको छ ।
नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र २ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।