२०८१ आश्विन ४

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानमाथि गोली प्रहार
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक १८, शुक्रबार ००:२६ गते

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएको बिबिसीले जनाएको छ। गुजरांवालाको अल्लाहवाला चोकमा खानमाथि गोली प्रहार भएको हो। उक्त घटनामा अन्य चारजना घाइते भएका छन्।  प्रहरीले घटनास्थलबाट एकजनालाई पक्राउ गरेको छ।

गोली चलाइएका वेला खान एक र्यालीमा सहभागी थिए। उनी कन्टेनरजस्तो सवारीसाधनको माथि बसेका थिए। उनीसँग उनको पार्टीका थुप्रै पनि कार्यकर्ता थिए।
घटनापछि सामाजिक सञ्जालहरूमा जारी भएको भिडियोमा कैयौँ राउन्ड गोली प्रहार भएको सुनिएको छ। स्वचालित हतियारबाट लगातार गोली चलेको सुनिन्छ।

गोली चलेलगत्तै इमरान र कन्टेनरमा रहेका अन्य कार्यकर्ताहरू निहुरिएका थिए। केही कार्यकर्ताले उनलाई कन्टेनरको आडमा लुकाउन खोजेको पनि देखिन्छ। आक्रमणकारीले त्यसपछि पनि केही राउन्ड गोली चलाएको सुनिएको छ।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। उनले गोली प्रहारको घटनापछि आफू अल्लाहको कारण आफू जीवित रहन सफल भएको बताएका छन्। उनले आफू पुनः चुनाव लड्ने प्रतिक्रिया पनि दिएका छन्।