२०८१ पुष १२

मतदाताहरुको उत्साहजनक सहभागिता
  • लुम्बिनी खोज
  • २०७९ मंसिर ४, आईतवार ०६:३९ गते

बुटवल ४ मंसिर ।
रुपन्देहीमा मतदानमा उत्साहजनक सहभागिता देखिएको छ। यहाका मतदान स्थलहरुमा मतदाताहरुको उत्साहजनक सहभागिता छ। बुटवलसहित जिल्लाका विभिन्न स्थलका मतदान स्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए।
नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बुटवल सडक विभागस्थित हेभी इक्युपमेण्ट कार्यालय परिसरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 


उनले बिहान साढे १० बजे मतदान गरेका हुन । पौडेल एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । यहा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगर (सूर्यवंशी) लाई साथ दिएको छ । पौडेल एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार हुन् ।
यसै मतदान केन्द्रबाट एमालेका प्रदेश सभाका उम्मेदवार भोजप्रसाद श्रेष्ठले पनि मतदान गरेका छन । यस केन्द्रबाट विहान सत्ता गठबन्धनको साथ पाएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्वर २ का उम्मेदवार केशवबहादुर थापा मगर (सूर्यवंशी)ले विहान मतदान गरेका छन्।

त्यस्तै यसै केन्द्रबाट सत्तागठबन्धनका तर्फबाट प्रदेश सभाका माओवादीका उम्मेदवार वामदेव क्षेत्री (घिमिरे) ले पनि बिहान नै मतदान गरेका छन्।

 


निर्वाचनपछि मुलुक अग्रगति र प्रगतितर्फ
मतदान पछि पत्रकारहरु सग कुरा गर्दै एमाले उपाध्यक्ष पौडेलले निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व र अग्रगति र प्रगतितर्फ लिएर जाने बताए । उनले विगतका तितामिठा अनुभवबाट शिक्षा लिएर देशलाई समृद्धतर्फ लैजाने बताए । उनले मतदानमा उत्साह जनक सहभागिता रहेको भन्दै विगतमा भन्दा राम्रो सहभागिता हुने विश्वास पनि ब्यक्त गरे ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीका अनुसार जिल्लामा २०८ वटा मतदान स्थल , ५ वटा अस्थायी मतदान स्थल गरी २१३ वटा मतदान स्थल र ७०२ मतदान केन्द्र तथा ५ वटा अस्थायी मतदान केन्द्र गरी ७०७ वटा मतदान केन्द्र छन्।