२०८२ असार ८

लुम्बिनीमा सरकार गठनका लागि २७ पुससम्मको समयसीमा
  • लुम्बिनी खोज
  • २०७९ पुष २१, बिहीबार १६:५८ गते

बुटवल।

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि यही पुस २७ गतेसम्मको अवधि तोकिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले २७ गते दिउँसो ४ बजेसम्मको समय दिएर बहुमत पेस गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि आह्वान गरे पनि यहाँका दलहरू केन्द्रको निर्णयको प्रतीक्षामा रहेका छन्।

प्रदेश प्रमुख शेरचनले बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। उनले बहुमत सदस्यहरूको हस्ताक्षरसहित दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रदेश प्रमुखबाट सरकार गठनका लागि आह्वान भए पनि दहरूबीच भागबन्डाको टुंगो नलाग्दा यहाँका दलहरू केन्द्रको निर्णयको प्रतीक्षामा छन्।  माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता जोखबहादुर महराले माथिबाट टुंगो नलागेकाले माथिको निर्णयको प्रतीक्षामा रहेको बताए। दलहरू छलफलमा रहेको भन्दै माथिबाट टुंगो लागेपछि यहाँ दाबी पेस गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बताए।  लुम्बिनीमा मुख्यमन्त्रीका लागि एमाले र माओवादीले दाबी गर्दै आएका छन्। एमालेले मुख्यमन्त्रीका रूपमा लीला गिरीलाई र माओवादी केन्द्रले महरालाई अगाडि सारेका छन्।

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको संख्या १० छ। यहाँ प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ सांसद छन्। यहाँ सबैभन्दा ठूलो दल एमालेका २९ सांसद रहेका छन्।

त्यस्तै, कांग्रेसका २७, माओवादी केन्द्रका ९, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी ३, जसपा ३, लोसपा ३, एकीकृत समाजवादी र राजमोका एक-एक सांसद तथा स्वतन्त्र ३ सांसद छन्।