२०८१ आश्विन ४

युक्रेनमा  हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित १८ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०७९ माघ ४, बुधबार १०:२७ गते

बुटवल ४ माघ ।

युक्रेनको राजधानी किभ नजिकै हेलिकोप्टर दुर्घटना हुँदा  मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा युक्रेनका आन्तरिक मामिलामन्त्री डेनिस मोनास्तिर्सकी र तीनजना बालबालिकासहित १८ जनाकाे मृत्यु भएकाे बिबिसीले जनाएको छ। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।

थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। हेलिकाेप्टरमा मन्त्री डेनिस मोनास्तिर्सकीसहित आठजना सवार थिए। एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्।

उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ। उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन्।

युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकाेप्टर युक्रेनको आपतकालीन सेवाको रहेको जनाएका छन्। जलिरहेको भवनबाहिर हेलिकाेप्टरको भग्नावशेष छरिएको देखिन्छ।

शिशु शिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँका कर्मचारीलाई अन्यत्र लगिएको थियो। दुर्घटना हुँदा त्यहाँ निकै अँध्यारो थियो र हुस्सु लागेको थियो।

प्रारम्भिक विवरणहरूका अनुसार दुर्घटनाअघि हेलिकाेप्टर उक्त विद्यालयको भवनमा ठोक्किएको थियो। पछि हेलिकाेप्टर एउटा आवासीय भवननजिकै पुगेर खसेको थियो।