२०८१ आश्विन ४

युक्रेन र पश्चिमा राष्ट्रहरूले युद्ध सुरु गरेको पुटिनको आरोप
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १०, बुधबार ०३:३७ गते

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक वर्षदेखि जारी युद्धका लागि पश्चिमा राष्ट्रहरूलाई दोष दिएका छन्।

रुसको संसद्‍मा सम्बोधन गर्दै उनले युक्रेनलाई पश्चिमा राष्ट्रहरूले ‘रुसविरोधी’ बनाउने प्रयास गरेको बताउँदै आफ्नो देशको अस्तित्व खतरामा रहेको बताएका छन्।

यो पुटिनले झन्डै दुई वर्षमा राष्ट्रका नाममा गरेको पहिलो सम्बोधन हो। युद्धका कारण उनको सम्बोधन पटकपटक पछि सारिँदै आएको थियो।

पुटिनले युक्रेनको पूर्वी भेगमा रहेको डोनबास क्षेत्रको द्वन्द्व शान्तिपूर्ण रूपमा समाधान गर्न खोजेको दाबी गरेका छन्। पश्चिमा राष्ट्रहरूको शान्तिप्रतिको प्रतिबद्धता “धोखा” र “क्रूर झूट” रहेको पाइएको उनले बताए।

“हामीले यो समस्यालाई शान्तिपूर्ण रूपमा समाधान गर्न सक्दो प्रयास गरिरहेका थियौँ, यो कठिन द्वन्द्वबाट शान्तिपूर्ण तरिकाले वार्ता गर्दैछौँ। तर हाम्रो पछाडि एकदमै फरक परिदृश्य तयार भइरहेको थियो,’’ उनले भने।

“राजनीतिक कारणले भएका हत्याहरू, विश्वास गरेकाहरू माथिको दुर्व्यवहारप्रति आँखा चिम्लिएर उनीहरू [पश्चिमा राष्ट्रहरूले] मात्र थप समय प्राप्त गर्न खोजिरहेका थिए,” पुटिनले थपे। सम्बोधनको क्रममा उनले युद्धले रुसमा पारेको प्रभावबारे चर्चा गर्दै अग्रपङ्गतिमा खटिएकादेखि शिक्षक अनि कृषकसम्मलाई धन्यवाद दिएका छन्। झन्डै दुई घन्टा लामो सम्बोधनका क्रममा पुटिनले आफूहरूले युक्रेनका नागरिक विरुद्ध युद्ध नगरेको जनाएका छन्।

उनले पछिल्ला वर्षहरूमा पश्चिमी हस्तक्षेपलाई “आतङ्कको अभियान” को संज्ञा दिएका छन्। “म यो दोहोर्‍याउन चाहन्छु कि उनीहरू युद्धका लागि दोषी छन् र हामीले यसलाई रोक्नको लागि आफ्नो शक्ति प्रयोग गरिरहेका छौँ,” उनले भने।

  • बीबीसी न्यूज