२०८१ आश्विन ४

कक्षा १२ को वार्षिक परीक्षाको समिक्षा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २८, आईतवार १५:०७ गते

बुटवल २८ जेठ ।
राष्ट्रिय वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलको आयोजनामा कक्षा १२ को वार्षिक परीक्षाको समिक्षा कार्यक्रम आइतवार बुटवलमा सम्पन्न भएको छ ।
गत बैशाख २६ गते देखि जेठ ५ गते सम्म संचालित परीक्षाको समिक्षा कार्यक्रममा रुपन्देही, पाल्पा,गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी पुर्व र नवलपरासी पश्चिम जिल्लाका केन्द्राध्यक्षहरु र पर्यवेक्षकहरुको प्रतिनिधि मुलक सहभागिता रहेको थियो ।समिक्षा कार्यक्रममा अधिकांश केन्द्राध्यक्ष एवं पर्यवेक्षकहरुले अनलाइन प्रश्न पत्र अन्त्य गरिनु पर्ने, परीक्षाको समय विहान ७ बजेबाट गरिनु पर्ने, पर्यवेक्षकको प्रावधान गरिएकोमा निरन्तरता दिनु पर्ने, प्रश्नपत्र निर्माणमा राष्ट्रिय परीक्षा वोर्डले त्रुटी रहित प्रश्न पत्र निर्माण गर्न प्रयास गर्नु पर्ने, प्रश्नपत्रको उच्च स्तरीय सम्पादन पछी मात्र प्रश्न पत्रलाई मान्यता दिनु पर्ने, पाठ्यक्रम विकासकेन्द्र संग राष्ट्रिय परीक्षा वोर्डको समन्वय हुनु पर्ने, निर्णय प्रक्रियामा ढिलाई गर्न नहुने सुझाव दिएका थिए । त्यस्तै विशिष्टीकरण कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने, गणित विषयको प्रश्नपत्र स्नातक तहको सोधि विद्यार्थीलाई हत्तोत्साहित बनाइएको, प्रदेश अनुसार प्रश्नपत्रमा एकरुपता नगरिएको, वायालोजी अन्तरगत जोलोजी र बोटनीका लागि छुट्टाछुट्टै उत्तरपुस्तिका व्यवस्था गरिनु पर्ने, परीक्षामा सहभागीको पारिश्रमिक न्युन भएकोले त्यसमा ध्यान दिनु पर्ने लगायतमा गुनासाहरु राखिएका थिए । कार्यक्रममा केन्द्राध्यक्षहरुमध्ये रुपन्देहीको तर्फबाट लोकनाथ उपाध्याय, प्रेम बहादुर बस्नेत, गोविन्द ज्ञवाली, विष्णु प्रसाद राना, मोतिलाल सुबेदी पर्यवेक्षकबाट लेखनाथ पौडेल, पाल्पाबाट देवराज देवकोटा, गुल्मीबाट वामदेव ज्ञवाली, अर्घाखाँचीबाट शंकर अर्याल, नवलपरासी पुर्वबाट मणिकण्ठ कंडेल, नवलपरासी पश्चिमबाट खेमलाल शर्मा, कपिलवस्तुबाट खगेश्वर खनाललगायतले धारणा राखेका थिए ।

राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीको अध्यक्षतामा शाखा अधिकृत कमल अर्यालको संचालनमा सम्पन्न कार्यक्रममा शाखा अधिकृत बाबुराम भण्डारीले स्वागत मन्तब्य राखेका थिए ।