२०८१ पुष ६
काठमाण्डौं १ असार ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
दुई साता लामो थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुईजनालाई धरौटीमा रिहा गरी १६ जनालार्इ थुनामा राख्न आदेश दिएको हो। पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाणलगायत १६ जनालाई जगन्नाथदेवल (सुन्धारा) कारागार पठाउन आदेशमा भनिएको छ।
ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा ३० जनालाई प्रतिवादी कायम गर्दै सरकारी वकिलले १० जेठमा मुद्दा चलाएको थियो। जसमाथि २१ जेठदेखि थुनछेक बहस सुरु भएको थियो। थुनछेक बहसपछि अदालतले शुक्रबार टंककुमार गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा छाड्न र अन्यलाइ थुनामा राख्न भनेको हो।
पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, पूर्वसांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।