२०८१ मंसिर १

लेथ सेटर अपरेटर तालिम
  • लुम्बिनी खोज
  • २०८० असार २५, सोमबार १२:३४ गते

बुटवल, २५ असार ।
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा बुटवल क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा लेथ अपरेटरको रुपमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि जेठ १ गतेदेखि बुटवल टेक्नीकल इन्स्टिच्यूटको व्यवस्थापनमा संचालन भएको २४ दिनको (९६ घण्टे) लेथ सेटर अपरेटर तालिमको सोमवार एक समारोहका वीच समापन गरिएको छ ।
बुटवल टेक्नीकल इन्स्टिच्यूटका प्रमुख कार्यकारी निर्देशक अभिमन्यू भिमार्जुन पन्थीको अध्यक्षता र रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष पौडेलले लेथ सेटर अपरेटर तालिमका प्रशिक्षार्थीहरुलाई सिकेका सिप र ज्ञानलाई व्यवहारमा उतार्न र सोको अधिकतम उपयोग गर्दै उद्योगको उत्पादकत्वमा टेवा पु¥याउन आग्रह गरे । उनले तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि भई औद्योगिक उत्पादकत्वमा बृद्धि हुने र बिस्तारै स्वरोजगारीको विकास गर्ने उद्देश्यले लेथ सेटर अपरेटर तालिमको गरेको बताए ,

बुटवल टेक्नीकल इन्स्टिच्यूटका प्रमुख कार्यकारी निर्देशक पन्थीले तालिमको सिकाई स्तर प्रभावकारी भएको बताउँदै प्रविधिको विकास सँगसँगै नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको र सिकेका कुराहरु व्यवहारमा उतार्न जोड दिए ।
इन्स्योर परियोजना लुम्बिनी प्रदेश संयोजक चक्रपाणि तिमिल्सीनाले सरकारले निर्दिष्ट गरेको सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याउन सहयोगीको भूमिका निर्वाह गरी तालिम आयोजना गर्ने रुपन्देही उद्योग संघ, सिप बिकास इकाई र बुटवल टेक्नीकल इन्स्टिच्यूटलाई धन्यवाद ज्ञापन गरे ।
तालिमका प्रमुख प्रशिक्षक डोर बहादुर भण्डारीले तालिमलाई प्रभावकारी र सिकाइ योग्य बनाउनका लागि रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाबाट प्राप्त पृष्ठ पोषणले झन उत्साहित बनाएको र थप उर्जा मिलेको बताए ।
प्रशिक्षार्थीको तर्फवाट भनाई राख्दै अनुराग थारुले तालिमले लेथमा विषयमा काम गर्न थप क्षमता अभिवृद्धि भएको, पेशा प्रति स्वाभिमान बढेको, स्वास्थ्य सुरक्षा प्रति व्यवहारमा परिवर्तन आएको र आफ्नो उद्योगमा लेथ सम्बन्धि काममा गुणस्तरीय सेवा उपलब्ध गराउन विश्वास बढेको बताए ।
तालिमको समापन कार्यक्रममा स्वागत मन्तव्य बिटी.आई.का चन्द्र बहादुर क्षेत्रीले गरेका थिए । समापन समारोहमा रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी, सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र बि.टि.आई.का प्रशिक्षकहरुको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन बिटी.आई.का तालिम संयोजक मनोज भटट्राईले गरेका थिए । विभिन्न उद्योगमा कार्यरत २ जना महिला र १८ जना पुरुष गरी जम्मा २० जनाले तालिम प्राप्त गरेका छन् ।