२०८१ मंसिर २
कपिलवस्तु २६ असार ।
कपिलवस्तुमा सर्पदंशबाट दुई दिनमा चारजनाको मृत्यु भएको छ । सोमबार राति घरमा सुतिरहेको वेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका– १ का दुई दाजुभाइको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका छन । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एकजनाको बाटोमा र अर्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा वसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मृतक दाजुभाइकी आमा वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेको प्रहरी निरीक्षक शाहीले बताए । बुबाको यसभन्दा अगाडि नै मृत्यु भएको थियो । यसैगरी सोमबार बिहान बुद्धभूमि नगरपालिकार महाराजगन्ज नगरपालिकाका एक एक जनाको मृत्यु भएको छ ।