२०८१ पुष १२

कोसी प्रदेश सरकार भंग गर्न एमालेको माग
  • लुम्बिनी खोज
  • २०८० असार ३०, शनिबार १३:४१ गते

बुटवल ३० असार ।
नेकपा एमालेले कोशी प्रदेशको नयाँ सरकार भङ्ग गरेर नयाँ सरकार गठन गर्न माग गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले विभिन्न ६ प्रस्ताव पारित गर्दै यस्तो माग गरेको हो । एमालेले असंवैधानिक र अलोकतान्त्रिक तथा संसदीय अभ्यासविपरित गठन गरिएको भन्दै तत्काल भंग गर्न माग गरेको छ।
‘नेपालको संविधानले सभामुख पदलाई निष्पक्ष र तटस्थ भूमिकामा रहेर व्यवस्थापिकाको नेतृत्व गर्ने संवैधानिक भूमिका तय गरेको छ। संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन। त्यसकारण सभामुख दलीय आबद्धताबाट अलग हुने प्रचलन छ।

अझ सरकार गठन गर्ने वा हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनको विश्वव्यापी मूल्य मान्यता एवं हाम्रो आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ।

नेकपा एमाले सत्तागठबन्धनका यस्ता असंवैधानिक कदमको भर्त्सना गर्दछ। असंवैधानिक ढंगले गठन गरिएको कोसी प्रदेश सरकार भंग गरी संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ।’ एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ।