२०८१ माघ २३
बुटवल ३१ असार ।
लुम्बिनी प्रदेश सभाको शनिबार बसेको बैठकले विभिन्न ६ वटा विषयगत (संसदीय) समिति गठन गरेको छ।
लामो समयसम्म विषयगत समितिहरू गठन हुन नसकेको अवस्थामा दोस्रो अधिवेशनको १९औँ बैठकले समिति गठन गरेको हो ।
प्रदेश सभाको सार्वजनिक लेखा समितिमा १२ जना, अर्थ, उद्योग तथा पर्यटन समितिमा १२ जना, भौतिक पूर्वाधार विकास समितिमा १४ जना, प्रदेश मामिला तथा कानुन समितिमा १२ जना, सामाजिक विकास समितिमा १२ जना र कृषि, वन तथा वातावरण समितिमा १५ जना सदस्य रहनेछन्। ती सदस्यले नै समितिको नेतृत्व चयन गर्नेछन्। सार्वजनिक लेखा समिति सदस्यमा विष्णुप्रसाद पन्थी, गिरीधारीलाल न्यौपाने, रामजीप्रसाद घिमिरे, सीता शर्मा, जानकी न्यौपाने, अब्दुल रज्जाक गद्धी, बैजनाथ कलवार, धनेन्द्र कार्की, धनलक्ष्मी श्रेष्ठ, दिपेन्द्र कुमार पुनमगर, नरमाया ढकाल र कन्हैया बाँनियाको नाम अनुमोदन गरेको छ ।
अर्थ, उद्योग र पर्यटन समितिको सदस्यमा तुलसीप्रसाद चौधरी, भगवतीकुमारी थरुनी, खेमबहादुर सारु, वसन्ती न्यौपाने, सायरा बनो, जन्मजय तिमिल्सिना, देवकरणप्रसाद कलवार, प्रचण्डविक्रम न्यौपाने, अनुराग खड्का, दिलकुमारी बुढा, कृष्णा केसी र हेमा बेल्बासे केसीको नाम अनुमोदन गरेको छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा विकास समितिको सदस्यमा चेतनारायण आचार्य, डिल्लीराज भुसाल, मधुसुदनशरण चौधरी कुर्मी, इन्द्रकुमारी गहतराज, विरबहादुर राना, बादशाह कुर्मी माया पुन, सरोज थापा, कृष्णा कुश्मा थारु, सुरुल पुन, निर्मलादेवी चौधरी, आदेशकुमार अग्रवाल, गीता गुरुङ र खड्ग बस्नेतको नाम अनुमोदन भएको छ ।
त्यसैगरी प्रदेश मामिला तथा कानुन समितिका सदस्यहरुमा भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी, रत्नबहादुर खत्री, चिन्तामणि पाण्डे, यमुना रोका तामाङ, निमा गिरी, भुवनेश्वर चौधरी, जमुना ढकाल, सुधाकर पाण्डेय, इन्द्रजीत चौधरी, राजकुमार चौधरी र आशिषकुमार चौधरी रहेका छन् ।
सामाजिक विकास समिति सदस्यहरुमा भूमिश्वर ढकाल, नवराज लामिछाने, रेखाकुमारी शर्मा, सरिता पुन, वसीउद्धिन खाँ, धनशादुर केसी, सुशीला बादी, मिनाकुमारी बोहोरा, लोकीकुमारी विक, यमबहादुर नेपाली सार्की, जानकीप्रसाद यादव र तारा थापा रहेका छन् ।
उता कृषि, वन तथा वातावरण समिति सदस्यहरुमा अर्जुनकुमार केसी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राजुप्रसाद श्रेष्ठ, शान्त लोध, मालती सोडारी, विश्वप्रेम पाठक, देवीप्रसाद चौधरी, जोखबहादुर महरा, मिना बुढामगर, मिनाकुमारी श्रेष्ठ, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र भगवती अधिकारी रहेका छन् ।
साथै बैठकमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री सन्तोष पाण्डेयले प्रदेश सभामा पेस गरेका थिए।
त्यस्तै, स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका लागि पेस गरेका थिए। संशोधन विधेयकमाथि शनिबारकै बैठकमा सैद्धान्तिक छलफल सकिएको छ।
संशोधन विधेयकमाथि प्रदेश सभा सदस्यहरू लोकीकुमारी विक, भगवती अधिकारी, विष्णु पन्थी, राजकुमार चौधरी, निमा गिरीले सुझाब राखेका थिए।
त्यस्तै, लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेश सभामा पेस गरेको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता भएको छ।
प्रदेश सभामा छलफलमै प्रवेश नगरी रोकिएको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष पाण्डेयले फिर्ता लिएका हुन्। यसमा गहन अध्ययनपछि मात्रै पुनः पेस गर्ने बताए। प्रदेश सभाको अर्को बैठक साउन ८ गते बस्नेछ।