२०८१ पुष २४
बुटवल ३ भदौ ।
रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।
उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो।
लूना२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो। यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो।
बीबीसीका अनुसार मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा थियो।
तर अवतरण गर्नुअघिको कक्षमा पुगेपछि त्यसमा समस्या देखिएको थियो।
रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले लूना२५ मा समस्या देखा परेलगत्तै त्यससँग सम्पर्क गुमाएको जनाएको छ।
उक्त यानको अवतरण सोमवारका लागि तय गरिएको थियो।
चन्द्रमाको उक्त क्षेत्रमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले ठानेका छन्।
रुसले झन्डै ५० वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण गरेको थियो
पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसले थप चन्द्रयानहरू पठाउने र चीनसँग मिलेर पनि अन्तरिक्ष अभियान अघि बढाउने बताउने गरेको छ।
हालसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत तथा रुसबिच प्रतिस्पर्धा चलेको थियो जहाँ भारतको चन्द्रयान३ अर्को साता त्यहाँ अवतरण गर्ने प्रयासमा छ।
यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरिसकेका छन्।