२०८१ मंसिर ६

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच सीमा क्षेत्रको तनाव घटाउने सहमति
  • लुम्बिनी खोज
  • २०८० भाद्र ८, शुक्रबार १०:१४ गते

एजेन्सी , ८ भदौ ।

चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीचको विवादास्पद सीमामा अहिलेको तनाव घटाउन सहमत भएका छन  ।

विकासशील राष्ट्रहरूको समूह ‘ब्रिक्स’ शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका दुई नेताबीच एक्लाएक्लै भएको भेटमा सीमा विवाद घटाउने सहमति भएकाे बीबीसी हिन्दीले जनाएको छ । भारतीय प्रधानमन्त्रीको अनुरोधमा चिनियाँ राष्ट्रपति सीले भेटावार्ता गर्नुभएको चिनियाँ पक्षले जनाएको छ । सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध बिग्रिएको छ । दुई शक्ति सम्पन्न देश चीन र भारतबीच हिमाली क्षेत्र रहेको तीन हजार चार सय ४० किलोमिटर लामो सीमामा अस्पष्टता छ । त्यसलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) भनिन्छ ।

दुई नेताबीचको भेटमा एलएसीबाट सैनिकहरू हटाउने सहमति भएको भारतका विदेश सचिव विनयमोहन क्वात्रालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति निकालेर सीमाबारेमा विस्तृतमा छलफल भएको र यो छलफलले समस्या समाधानमा स्पष्ट भूमिका खेल्ने बताएको छ ।

यसअघि सी र मोदीबीच जी–२० शिखर सम्मेलनमा सहभागी हुन जाँदा पनि भेट भएको थियो । सी आउँदो महिना जी–२० शिखर सम्मेलनमा भाग लिन भारत जाने तयारी छ । जी–२० शिखर सम्मेलन आउँदो सेप्टेम्बर ९ र १० तारिखमा दिल्लीमा हुँदैछ ।