२०८१ कार्तिक ६

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार दिने सरकारको निर्णय
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २६, आईतवार १३:२९ गते

काठमाण्डौं २६ कात्तिक ।
सरकारले जाजरकोट भूकम्पबाट प्रभावित १२ जिल्लामा तत्काल अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने भएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारको राष्ट्रिय विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले त्यस्तो रकम दुई किस्तामा दिइने निर्णय गरेको छ । समितिका अध्यक्ष उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ को अध्यक्षतामा बसेको बैठकले भूकम्पपीडित अस्थायी आवास निर्माणसम्बन्धी कार्यविधि पारित पनि गरेको छ ।
१७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले २६ हजार ५ सय ५७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३५ हजार ४ सय ५५ घरमा आंशिक क्षति पुगेको छ ।

भूकम्पका कारण निजी आवास पूर्ण रूपमा क्षति भएका वा बस्न नहुने गरी चर्के रभत्केको भनी सम्बन्धित स्थानीय तहका प्राविधिकले सिफारिस गरेको र नेपालभर अन्यत्र बस्न योग्य घर नभएको भनी स्वघोषणा गरेको आधारमा त्यस्तो रकम दिइनेछ ।

०७२ पछिका भूकम्पबाट घरबार गुमाएकालाई स्थायी र अस्थायी आवासका लागि अनुदान दिन छुट्टै व्यवस्था नरहेकाले सरकारले भूकम्पपीडित अस्थायी आवास निर्माणसम्बन्धी कार्यविधि पारित गरेको हो ।