८ जेष्ठ २०८१, मंगलवार

साई ग्लोबल कपः जेसिस र प्यारामाउण्ट सेमिफाइनलमा
  • लुम्बिनी खोज
  • १७ फाल्गुन २०८०, बिहीबार १६:००

भैरहवा,१७ फागुन ।

जेसिस इङ्गलि बोर्डिङ हाई स्कूल र प्यारामाउण्ट इङ्गलि बोर्डिङ हाई स्कूल भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’को सेमिफाइनल प्रवेश गरेका छन् । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जेसिसले लीलाराम उच्च माविलाई ६ विकेट र प्यारामाउण्टले साई ग्लोबल ‘बी’ टिमलाई ३ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका हुन् ।
टस जितेर ब्याटिङ गरेको लीलारामले निर्धारित २० ओभरको खेलमा १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ५९ रनको झिनो योगफल प्रस्तुत गर्यो । उसका लागि निरज मौर्यले २४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा जेसिसका इकलाख अहम्मदले ह्याट्रिकसहित ४ विकेट लिए । चार ओभरमा ८ रन खर्चेका उनले यसअघि पनि ह्याट्रिक विकेट लिएका थिए । जारी प्रतियोगितामा उनको यो दोस्रो ह्याट्रिक हो । यस्तै, हरिकेष मौर्यले ३, अनिश भट्टराईले २ तथा अजयकुमार चौहानले १ विकेट लिए ।
सामान्य लक्ष्यसहित ब्याटिङमा आएको जेसिसले १४ ओभर १ बलमा ४ विकेट गुमाएर ६१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा शैलेन्द्र यादवले अविजित २८ रनको योगदान दिए । बलिङमा लीलारामका रमेश कुर्मी र अर्जुन करुसले समान १–१ विकेट लिए । खेलमा जेसिसका इकलाख अहम्मद म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले पुरै ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय १६ रन बनायो । उसका लागि अमल यादवले अविजित ३० रन बनाउँदा मोहम्मद हुसेनले पनि ३० रन नै बनाए । यस्तै, मिर्नाल गुरुङले १६ तथा इमरान खानले १२ रन जोडे । बलिङमा प्यारामाउण्टका सन्देश थापा र ड्रस सुनारले २–२ तथा शिव कुँवर, दीलिप रेग्मी र मञ्जिल भण्डारीले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्यारामाउण्टले अन्तिम बलमा ७ विकेट गुमाउँदै १ सय १७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा ड्रस सुनारले अविजित ३५ रन बनाउँदा शिव कुँवरले २४, सन्देश थापाले २२ र ऋषभ बेल्बासेले १२ रनको योगदान दिए । बलिङमा साई ग्लोबल ‘बी’का जयप्रताप यादवले २ तथा मोहम्मद हुसेन, अमन यादव र रितेश भुजले समान १–१ विकेट लिए । खेलमा प्यारामाउण्टका ड्रस सुनार म्यान अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा भैरहवामा रहेको साई ग्लोबल एकेडेमीको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता फागुन २० गतेसम्म चल्नेछ ।