८ जेष्ठ २०८१, मंगलवार

साई ग्लोबल कपः जेसिस र न्यु होराइजन ‘ए’ उपाधिका लागि भिड्ने
  • लुम्बिनी खोज
  • १९ फाल्गुन २०८०, शनिबार १६:२७

बुटवल,१९ फागुन ।

जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र न्यु होराइजन ‘ए’ टिम भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा उपाधिका लागि भिड्ने पक्का भएको छ । शनिबार भएको सेमिफाइनल खेलमा जेसिसले शान्ति नमूना उच्च माविलाई ९ विकेट र न्यु होराइजनले प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूललाई ३७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले निर्धारित खेलमा ६ विकेट गुमाउँदै जम्मा ६२ रनको झिनो योगफल बनायो । उसका लागि लक्ष्मण कुमालले अविजित २२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न जेसिसका अनिष भट्टराई, अजयकुमार चौहान, इकलाख अहम्मद, हरिकेष मौर्य र शैलेन्द्र यादवले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको जेसिस १३ ओभर २ बलमा १ विकेट गुमाउँदै ६४ रन बनायो र फाइनल यात्रा पक्का गर्यो । उसको जितमा सागर कुँवर र शैलेन्द्र यादवले अविजित क्रमशः २८ र २६ रनको योगदान दिए । बलिङमा शान्ति नमूनाका लक्ष्मण कुमालले १ विकेट लिए । खेलमा जेसिसका शैलेन्द्र यादव म्यान अफ द म्याच भए ।
दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङमा आएको न्यु होराइजन ‘ए’ले ९ विकेटको नोक्सनीमा १ सय १२ रनको बलियो स्कोर खडा गर्यो । उसका लागि महेश भरले अविजित २३, अमर मिश्रले २०, राहुल भण्डारीले १९ र निर्मल गुरुङले १६ रन बनाए । बलिङमा प्यारामाउण्टका दीलिप रेग्मीले ३, सन्देश थापा र मञ्जिल भण्डारीले २–२ तथा शिव कुँवर र ड्रस सुनारले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्यारामाउण्ट १६ ओभर ३ बलमा अलआउट हुँदै ७५ रनमै समेटियो । उसका लागि ड्रस सुनारले १८ रन बनाउँदा सन्देश थापाले १५ रन जोडे भने अन्य ब्याटरले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न न्य होराइजनका निरज घिमिरेले ३, निर्मल गुरुङ र कमरन खाँनले २–२ तथा निराजन भट्टराई र महेश भरले १–१ विकेट लिए । खेलमा न्यु होराइजनका निरज घिमिरेले म्यान अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा भैरहवामा रहेको साई ग्लोबल एकेडेमीको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको फाइनल आइतबार हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।