२०८१ श्रावण १२

लुम्बिनीमा १२५० जनाको प्रबज्या
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २६, शनिबार १५:४७ गते

 

लुम्बिनी,२६ फागुन ।
बुौद्धमार्गमा हिडने पहिलो खुटकिलोका रुपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षु का लागि शनिबार लुम्बिनीमा प्रबज्या कार्यक्रम गरिएको छ । मायादेवी मन्दिर परिसरमा एकै दिन १२५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रबज्यामा सहभागिता जनाएका हुन ।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा शनिबरा मायादेवी मन्दिर प्राङ्गणमा १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।
अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन र थाइलयाण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरुहरुले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन । अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्नेछ ।
फागुन १६ गतेदेखि शुरु भएको प्रवज्यामा लुम्बिनीम्रै आएर १२५० जनाले केश मुन्डन गरेर चिवर प्राप्त गरेका हुन । शनिबार पहेलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरुले पहेलो चिवरण ग्रहण गर्न पाउदा निकै खुशी लागेको बताएका छन् ।
अखिल नेपाल भिक्षु महासंघका कार्यकारिणी सदस्य भिक्षु प्रज्ञामूर्तीले बुद्ध शिक्षाको प्रवद्र्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्नका लागि १२५० जनालाई श्रामणेर (अल्पकालिन भिक्षु ) बनाइएको बताए । उनले चिवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराउने गरिएको बताए । छोटो अवधीमा चिवर प्राप्त गरी बुद्धको शिक्षा ग्रहण गराउन आफुहरुले श्रामणेर बनाउने गरिएको उनले बताए ।
लुम्बिनीमा गरिएको अल्पकालिन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथले बताए ।
सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना र सन् २०२३ मा ५ सय जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एवं लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताए ।
प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति थियो । प्रव्रज्यामा देशभरबाट सहभागिता रहेको छ । प्रवज्या अन्तर्गत आईतबार भिक्षाटन, चैत ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्रको रामग्राम र तिलौराकोटमा धर्मयात्रा र चैत ८ गते समापन कार्यक्रम हुने जनाइएको छ ।