२०८१ श्रावण १२

बौद्ध विश्वविद्यालय विश्वकै आर्कषणको केन्द्रः एमाले उपाध्यक्ष पौडेल
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २८, सोमबार १४:३८ गते

देवदहमा एक खर्बको परियोजना सञ्चालन गर्दै

बुटवल २८ फागुन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिव १ खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । देवदहमा निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार उद्घाटन कार्यक्रममा बोल्दै पदाधिकारीहरुले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया शुरु भएको बताएका हुन् ।
भवनको उद्घाटन गर्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताए । बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेकै स्थानमा गर्न पाउनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने उनले बताए ।
बौद्ध विश्वविद्यालयलाई सरकारी दायित्वबाट सञ्चालन गर्ने योजनासहित ऐन संसोधन गर्नमा आफ्नो प्रयत्न रहेको स्मरण गर्दै उनले विश्वविद्यालयलाई मुलुककै नमुना उच्च शिक्षाको केन्द्र बनाएर लैजानुपर्ने बताए ।
विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा एक खर्बको परियोजना शुरु भएको भन्दै उनले त्यो परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको उल्लेख गरे । “यो विशाल संरचना हो, १ खर्ब लागतमा सम्पन्न हुनेछ, उनले भने,“पूर्वाधार निर्माणको चरणलाई सबै पक्षले सहयोग गर्नुपर्छ, धुलो धुवा सहेरै विकास हुने हो ।” विश्वविद्यालयको देवदहमा जग्गा व्यवस्थापनमा रजिष्ट्रारसहितका पदाधिकारीहरुले गरेको मिहनेतको उनले प्रशंसा गरे ।
पूर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्माले देवदहकै विशाल पूर्वाधारको निर्माण विश्वविद्यालयले गर्न लागेको भन्दै सबै पक्षबाट यसमा सहयोगको अपेक्षा रहेको बताए । देवदहबासीका लागि देवदह शैक्षिकग्रामका रुपमा स्थापित हुने भन्दै यसको निर्माण सम्पन्न हुँदा अन्र्तराष्ट्रिय आकर्षणको केन्द्र बन्ने उनले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्नेगरी सुविधा सम्पन्न संरचनाहरु निर्माण हुने बताए । “हामीले ५० करोडको लागतमा गुरुयोजना बनाएका छौं, अव यसै अनुरुपका पूर्वाधारहरु निर्माण हुनेछन, उनले भने ।
विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र ४ हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले बताए । विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने उनले बताए ।
विश्वविद्यालयका रजिष्टर डा. तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले योजना बनाएको बताए । आफूले आठ वर्षको अवधिमा पूर्वाधार र शैक्षिक विकासका कामलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै विश्वविद्यालय निर्माणका लागि हरतरहले निरन्तर अघि बढिरहने बताए ।
देवदहमा ९२ विगाहा जमिन प्राप्तीका लागि ६ वर्ष संघर्ष गरेको स्मरण गर्दै उनले देवदहबासीबीच गरिएका पूर्वाधार निर्माणका प्रतिवद्धताहरु पूरा गर्दै लगिने बताए । देवदहमा विशाल परियोजनाको निर्माण शुरु गरिएको भन्दै उनले ससानो एजेण्डामा विकासमा अवरोधक नबन्न आग्रह गरे ।
विश्वविद्यालयले देवदहमा ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्राहलय, गेष्ट हाउस भिल्लासहितका संरचना बन्नेछन् । रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ । पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रष्टी बनाउने जनाएको छ । विश्वविद्यालयका सुचना अधिकारी चुरामणि पोखरेलले यी सबै संरचना निर्माणमा एक खर्ब लागतको अनुमान गरिएको बताए ।
रजिष्टर डा. तिलकराम आचार्यले पूर्वाधार निर्माणका लागि केही दातृ निकायले प्रतिवद्धता जनाइसकेको बताए । यो संरचना बन्दा विदेशी विद्यार्थीहरु पढ्नका लागि नेपाल आउने वातावरण सिर्जना हुने बताए ।
सोमबार उद्घाटन गरिएको भवन झण्डै सवा सात करोडको लागतमा आठ महिना मै तयार भएको हो । एक वर्ष निर्माण अवधि रहेपनि कम्पनीले समयावधि अगावै निर्माण सकेको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्राईले देवदहबासीले दिएको जमिनमा पूर्वाधार निर्माण शुरु भएको भन्दै खुसी व्यक्त गरे । विश्वविद्यालय सभाका सदस्य कपिल लामाले बौद्ध शिक्षासहितका कार्यक्रम सञ्चालन गरी विद्यार्थी संख्या बढाउदै लैजानुपर्ने बताए । डिन कार्यालयका कार्यकारी निर्देशक उकेशराज भुजुले समुदायलाई जोड्दै विश्वविद्यालयले देवदहमा शैक्षिकसहितका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
देवदहमा भवन निर्माणसंगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन् । लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको विश्वविद्यालयमा हाल ३० वटा शैक्षिक कार्यक्रम सञ्चालित छन् । विश्वविद्यालयमा २ हजार १३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।