२०८२ माघ २८

बुटवल उवासंघको स्थापना दिवस ः पूर्वअध्यक्ष वझालाई सम्मान
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन ११, बुधबार ०८:४७ गते

बुटवल, ११ फागुन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष जीवनप्रसाद वझालाई संघमा सम्मान गरिएको छ । संघको ६९ औं स्थापना दिवसको अवसरमा संघका पूर्व अध्यक्ष वझालाई सम्मान गरिएको हो ।
मंगलबार संघको सभाहलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उहालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । वझा २०५३–२०५५ सम्म संघको अध्यक्ष भएका थिए । संघले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षबाट १ जनालाई सम्मान गर्दै आएको छ ।
बुटवल उद्योग वाणिज्य संघ बुटवल व्यापार संघको नाममा २००९ सालमा तदर्थ समिति गठन भएको थियो भने २०१० साल फागुन १० गते दर्ता भएको थियो । त्यसै अवसरमा संघको तर्फबाट बुटवल माध्यमिक विद्यालय र बुटवल बालमन्दिरमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । उक्त सामाग्री बुटवल माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम गौतम र बुटवल बालमन्दिरका अध्यक्ष साझन भण्डारी प्रदान गरिएको हो ।
कार्यक्रममा प्रदेश सभामुख घर्तीले प्रदेशको समृद्धिको लागि औद्योगिक बिकासका माध्यमबाट आर्थिक क्रान्ति अपरिहार्य रहेको बताएका छन । उनले प्रदेशमा आर्थिक क्रान्तिको लागि औद्योगिक बिकासको नेतृत्व गर्न उद्योग वाणिज्य संघलाई आग्रह गरे । समाजवादको लागि पहिले पुंजीको बिकास हुनुपर्ने बताउंदै उनले पुँजीवादको विकासमा पनि उद्योगी व्यवसायीको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । नमुना शहरको विकासको लागि प्रदेशको राजधानी दाङमा तोकिएको बताउँदै ५ वर्षपछि दाङ प्रदेशको नमुना शहर हुने उनको भनाई थियो । प्रदेश संरचना स्थापनामा आफ्नो भौतिक पूर्वाधार उपलब्ध गराएर संघले सरकारलाई महत्वपूर्ण सहयोग गरेको पनि स्मरण गरे ।
संघले लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती कक्ष निर्माण, आम्दा अस्पताल स्थापना, बुटवल बहुमुखि क्याम्पसमा विज्ञान भवन निर्माण, लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस स्थापनामा लगानी सहितको नेतृत्वदायी भूमिका खेलेको थियो । त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलमा थुनुवा कक्ष निर्माण, बुटवलका विभिन्न स्थानमा प्रहरी विट, सुरक्षाको लागि बुटवलका विभिन्न सार्वजनिक स्थलमा सिसि क्यामेरा जडान, बुटवलको आम्दा अस्पतालमा भेन्टिलेटर सहितको आईसियू कोभिड वार्ड निर्माण लगायत यस क्षत्रको आर्थिक तथा सामाजिक बिकासमा संघले नेतृत्वदायी भूमिका खेल्दै आएको अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।
सम्मानित संघका पूर्व अध्यक्ष वझाले संघको नेतृत्व गर्ने अवसर प्राप्त गरेर आफूलाई प्रतिष्ठा मिलेको बताउँदै संघको गरिमा अझै बढाउने गरी काम गर्न नेतृत्वलाई आग्रह गरे ।
कार्यक्रममा संघका सल्लाहकार तथा पूर्वअध्यक्ष अर्जुनमान सैंजु, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्य तथा स्थापना दिवस विशेष कार्यक्रमका संयोजक प्रकाश श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । संघले स्थापना दिवसकै अवसरमा सोमबार रक्तदान कार्यक्रम गरेको थियो भने आईतबार सोमबार र मंगलबार संघ सचिवालयमा दीपावली गरिएको थियो ।