२०८१ श्रावण १२

ड्रिम युनिक रूपन्देही सुपरलिगः जेआरलाई सफलता
  • लुम्बिनी खोज
  • २०८० चैत्र १९, सोमबार १६:०९ गते

बुटवल, १९चैत ।
खडक बोहरा र प्रकाश जैशीको अर्धशतकको मद्दतमा जेआर क्रिकेट क्लबले भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा जित हात पारेको छ । उसले बुटवल–११ लाई ६३ रनले पराजित गर्दै जित निकालेको हो ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआरले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २ सय ८३ रनको उच्च योगफल बनायो । उसका लागि खडक बोहराले ७५, प्रकाश जैशीले ५८, संदीप सुनारले ३८, नरेन साउदले ३२, अनमोल श्रीसले २१, विशाल भुसालले १५ र राज खनालले १३ रनको योगदान दिए । बलिङमा बुटवल–११ का विवश खातीले ३, अशोक पौडेल र प्रमिश अर्यालले २–२ तथा मञ्जिल भण्डारीले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको बुटवल–११ भने ४३ ओभर ४ बलमा २ सय २० रन बनाउँदा अलआउट भयो र हार व्यहोर्यो । उसका लागि हिमाल पुनले अविजित ६०, प्रमिश अर्यालले ३३, मनिष न्यौपानेले २४, तौसिफ आलमले १७, विनोद थापाले १५, विवेक शर्माले १३ र विवश खातीले १० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा जेआरका संदीप सुनारले ३, प्रकाश जैशी र खडक बोहराले २–२ तथा नरेन साउद र विमल भुसालले समान १–१ विकेट लिए । खेलमा जेआरका खडक बोहरा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।