८ जेष्ठ २०८१, मंगलवार

ड्रिम युनिक रूपन्देही सुपरलिगः तिरुपति २६८ रनले विजयी
  • लुम्बिनी खोज
  • २३ चैत्र २०८०, शुक्रबार १६:४९

भैरहवा,२३ चैत्र  ।
संदीप मौर्य र एजाजुल हकको शतकको मद्दतमा भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा तिरुपति क्रिकेट क्लबले सानदार जित निकालेको छ । तिरुपतिले बुटवल–११ लाई २ सय ६८ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित हात पारेको हो ।
यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा ३ सय ६६ रनको उच्च योगफल खडा गर्यो । उसका लागि संदीप मौर्यले १२१, आकाश त्रिपाठीले १११, एजाजुल हकले ५५, तुलबहादुर थापाले ३० र रोहित थापाले नटआउट १३ रनको महत्वपूर्ण योगदान गरे । बलिङमा बुटवल–११ का विनोद थापाले ४, प्रमिश अर्यालले २ तथा विभेष खाती र आश्विन भट्टराईले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बुटवल २० ओभर २ बलमा अलआउट हुँदै ९८ रनमै सीमित भयो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका तुलबहादुर थापाले ३, यम क्षेत्री र आकाश त्रिपाठीले २–२ तथा थमन सिंजाली, सुभाष खत्री र संदीप मौर्यले समान १–१ विकेट लिए । बुटवल–११ का विवेक शर्माले २३, प्रमिश अर्यालले २१, तौसिफ आलमले १५ र एजाज अहम्मदले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले फराकिलो अन्तरले पराजित भयो । खेलमा तिरुपतिका संदीप मौर्य प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।