२०८१ श्रावण १२

भलाई कोषको स्वर्ण महोत्सवमा तीन दिनसम्म कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० चैत्र २७, मंगलवार १२:४३ गते

५ लाखको अक्षयकोष स्थापना गर्दै

बुटवल २७ चैत ।
बुटवलमा प्रधान कार्यालय रहेको यातायात मजदूर तथा व्यवसायी भलाई कोषले तीन दिन सम्म स्वर्ण महोत्सव मनाउने भएको छ । २०३१ सालमा सिद्धार्थ राजमार्ग यातायात मजदुर भलाई कोष प्रधान कार्यालय बुटवलको नामबाट स्थापना भएको यस कोषले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । संस्था स्थापनाको ५० वर्ष प्रवेशको अवसरमा स्वर्ण महोत्सव भव्यरुपले मनाउन लागेको अध्यक्ष दिनेश फुल्लेलले बताए ।
२ हजार ८ सय देखि ३ हजार सम्म सदस्य रहेको यस कोषको स्वर्ण महोत्सव तयारीका सम्वन्धमा जानाकारी गराउन मंगलवार पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा कोषका पूर्व अध्यक्ष तथा सल्लाहकार कुमार थापा, अध्यक्ष फुल्लेल, महासचिव योग गुरुङसहितका पदाधिकारीले कोषका बारेमा जानाकारी गराएका थिए ।
स्वर्ण महोत्सवमा गरिने कार्यक्रमहरु
कोषको ४६ औं वार्षिक साधारणसभा तथा स्वर्ण महोत्सवको अवसरमा आगामी वैशाख १ गते बिहान ८ बजे गरीव तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिने भएको छ । ५ लाख १ हजार उक सय एघार रुपैयाको अक्षय कोष स्थापना गरिने भएको छ । वैशाख २ गते बिहान ८ बजे रक्तदान कार्यक्रम तथा बिहान ११ बजे प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको अध्यक्ष फुल्लेलले बताए । बैशाख ३ गते ४६ औं साधारणसभा तथा स्वर्ण महोत्सव मूल समारोहका साथै स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन र सम्मान कार्यक्रम गरिने उनले बताए ।
सिद्धार्थ यातायात मजदुर भलाई कोषको नाममा स्थापित संस्थामा स्थापना कालमा १ जना कर्मचारी, २ शाखा, वार्षिक बजेट करिब ८–९ हजार रहेकोमा हाल सुदुर पश्चिमाञ्चल प्रदेश बाहेक अन्य ६ प्रदेशका २६ स्थानमा शाखा स्थापना भएका छन् । प्रधान कार्यालयमा समेत गरी ६४ जना कर्मचारी कार्यरत छन् ।
यी हुन भलाइ कोषले गरेका प्रमुख कार्यहरु
यस कोषले २०५५ सालमा २५ वर्ष पुगेको उपलक्ष्यमा रजतजयन्ती मनाएको थियो । कोषले दुर्घटना परी अंगभंग भएका यातायात मजदुरहरुलाई मासिक २ हजार २ सय पेन्सनको व्यवस्था गरेको छ । २०५८ सालमा तीन सय रुपैयाबाट शुरु भएको यो ब्यवस्था हाल आउदा २२ सय रुपैया पुगेको छ । हाल १८ जनाले यो सुविधा लिदै आएका छन् । उमेरको हदबन्दी पुगेका सवारी चालकको अनुमतिपत्र नवीकरण नभएका, परिचयपत्र मासिक नविकरण गरिरहेका सवारी चालकलाई एकमुष्ट रु.५ हजार दिई सम्मान गर्दै आएको छ । यातायात मजदुरका छोरा छोरीलाई पठन–पाठनको लागि छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको अध्यक्ष फुल्लेलले बताए । यातायात मजदुरको मृत्यु भएमा एकमुष्ट आर्थिक सहयोग गरिंदै आएको र परिचय पत्र नविकरण भएका साधारण सदस्यहरुलाई सामान्य औषधि उपचार वापत रु.४ हजार र अप्रेशन गर्नुपर्ने भएमा थप रु.८ हजार दिने व्यवस्था गरिएको उनले बताए । उनका अनुसार एकवर्ष नियमित कोष शुल्क बुझाएका सवारी धनीको दुई लाख रुपैयासम्मको दुर्घटना बीमा गरिएको छ । भलाई कोषले बिमा कम्पनीसँग सम्झौता गरी दुर्घटनापछिको आर्थिक क्षति व्यहोर्दै आइरहेको छ ।े सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिकसंग हातेमालो गरेर दुर्घटना न्यूनिकरण प्रशिक्षण पनि गर्दै आएको फुल्लेलले बताए ।