२०८१ श्रावण १२

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण
  • लुम्बिनी खोज
  • २०८० चैत्र २९, बिहीबार ०९:५५ गते

काठमाण्डौं २९ चैत ।
एसियाली विकास बैंक एडीबीले आर्थिक वर्ष ०८०।८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। यसअघि विश्व बैंकले चालू आर्थिक वर्षमा ३.३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो।
बैंकले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृश्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष ०७९–८० को तुलनामा १.९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ। सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ ।
नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिक रूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ।

बैंकले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार एवं निर्माणाधीन केही महत्वपूर्ण जलविद्युत् परियोजनाको उत्पादन सुरु भएसँगै औद्योगिक क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ।