७ जेष्ठ २०८१, सोमबार

ड्रिम युनिक रूपन्देही सुपरलिगको उपाधि तिरुपतिलाई
  • लुम्बिनी खोज
  • ५ बैशाख २०८१, बुधबार १२:२५

भैरहवा, ५बैशाख ।
तिरुपति क्रिकेट क्लबले ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ ।
बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबलाई २० रनले पराजित गर्दै तिरुपतिले उपाधि जित्न सफल भएको हो । जितसँगै तिरुपतिले १ लाख १ रुपैयाँ पाएको छ ।

उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा ४३ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ७६ रनको मध्यम स्तरको योगफल बनाएको थियो । तर, खुकुरीले उक्त योगफल भेट्टाउन नसक्दा उपाधि जित्नबाट चुक्यो । तिरुपतिको जितमा तुलबहादुर थापाले ४३, आनन्द गौडले ३९, एजाजुल हक हुसेनले ३२, सन्तोष साउदले १२, कमल विकले ११ र संदीप मौर्यले १० रनको योगदान दिए । बलिङमा लुम्बिनी खुकुरीका सन्तोष यादवले ४, शाहब आलमले ३, दुर्गेश गुप्ताले २ र सन्देश जिसीले १ विकेट लिए ।
१ सय ७७ रनको लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी ४२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा समेटियो र उपाधिबाट चुक्यो । लुम्बिनी खुकुरीलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका संदीप मौर्यले १० ओभरमा १ मेर्डन राख्दै ३४ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिए । यस्तै, वसिर अहम्मदले ३ तथा रोहित थापाले १ विकेट हात पारे ।
लुम्बिनी खुकुरीका मुख्य ब्याटर तिरुपतिका बलरसामु खुलेर खेल्न सकेनन् । उसका लागि प्रज्वल थापाले ३६, दुर्गेश गुप्ताले अविजित २७, शाहब आलमले १७, सन्तोष यादवले १५ र धनबहादुर शाहीले ११ रन बनाए पनि मुख्य ब्याटर शंकर राना, संदीप रजाली, अन्तिम थापा लगायतले दोहोरो अंकमा रन जोड्न सकेनन् र टिम उपाधि जित्नबाट चुक्यो । खेलमा तिरुपतिका संदीप मौर्य म्यान अफ द फाइनलबाट पुरस्कृत भए । प्रतियोगितामा तिरुपतिका संदीप मौर्य म्यान अफ द सिरीज, नेपथ्य तिलोत्तमा क्रिकेट क्लबका आशुतोष पाण्डे उदयीमान खेलाडी, न्यु होराइजनका अमर मिश्रा बेष्ट ब्याटर र लुम्बिनी खुकुरीका अजयकुमार चौहान बेष्ट बलर घोषित भए । उनीहरु चारैजनाले जनही ५ हजारका दरले पुरस्कार प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा आयोजित प्रतियोगिता एक महिनासम्म चलेको थियो । मुलुकमै जिल्लास्तरमा रुपन्देहीमा मात्रै एक दिवसीय प्रतियोगिता हुँदै आएको छ । विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, आयोजक क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, जिल्ला समन्वय समिति रुपन्देहीका निवर्तमान सभापति एकराज विश्वकर्मा, सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरे, सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवाली लगायतले पुरस्कार प्रदान गरे ।