४ जेष्ठ २०८१, शुक्रबार

आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ:प्रधानमन्त्री प्रचण्ड
  • लुम्बिनी खोज
  • १० बैशाख २०८१, सोमबार १६:३८

बुटवल,१० बैशाख ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बिचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमबिचबाट यसलाई अगाडि बढाउनुपर्छ।’

प्रधानमन्त्रीले एक पटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए। उनले भने , ‘‘अघिल्लो एकता बचाउन सकिएन, तर एक पटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’

प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए। उनले भने , , ‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तनजस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरुरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। यस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’