२०८१ श्रावण १२

ढुवानीलाई बैज्ञानिक बनाउन र भाडमा एकरुपता कायम गर्न सुझाव
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १७, मंगलवार १६:०८ गते

बुटवल, १७ फागुन ।
माल सामानको ढुवानी भाडालाई बज्ञानिक रुपमा निर्धारण गर्न र त्यसमा एकरुपता कायम गर्न व्यवसायीहरुले ढुवानी व्यवसायीलाई सुझाव दिएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा आयोजना गरिएको ढुवानी सम्वन्धि अन्तरक्रियामा ट्रान्सपोर्ट व्यवसाय ढुवानी ग्राममा सरेपछि ढुवानीको भाडादर पनि वृद्धि भएको र भाडामा एकरुपता पनि नभएको भन्दै सुधार गर्न सुझाव दिएका हुन ।
बुटवल नगरपालिकाले बुटवलको ढवाहामा ट्रान्सपोर्ट ग्राम निर्माण गरेपछि बुटवलमा छरिएर रहेको ट्रान्सपोर्ट व्यवसाय त्यहाँ सरेको छ । बुटवलको मुख्य बजारबाट ६÷७ किलोमिटरको दुरीमा व्यवसाय सरेपछि ढुवानी भाडामा केही वृद्धि हुनु स्वभाविक भएको उनीहरु बताउंछन् ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नयाँ ठाउँमा जादा सुरुसुरुमा समस्या देखिएपनि बिस्तारै समाधान हुँदै जाने विश्वास व्यक्त गरे । उनले व्यवसायीको गुनासो आएपछि त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष कसजूले भाडालाई वैज्ञानिक रुपमा व्यवस्थापन गरेर एकरुपता कायम गर्न पनि आग्रह गरे ।
ढुवानी व्यवसायी संघका अध्यक्ष श्यामराज हमालले तुलनात्मक रुपमा ढुवानीको भाडा बढी देखिएपनि अहिले दुरी बढी भएकाले पुरानै दरमा काम गर्दा आफूहरुलाई घाटा हुने बताए । व्यवसायमा नाफाबिना काम गर्न नसकिने बताउँदै उनले त्यसलाई व्यवस्थित गर्नको लागि अध्ययन भईरहेको जानकारी गराए ।
त्यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले व्यवसायीलाई पनि मर्का नपर्ने र ट्रान्सपोर्ट व्यवसायीलाई पनि मर्का नपर्नेगरी मध्यमार्गी बाटोको पहिचान गर्नुपर्ने भनाई राखे ।
कार्यक्रममा व्यवसायीका जिज्ञासामा ढुवानी व्यवसायी संघका महासचिव रामप्रसाद गैरेले पहिले नै ट्रान्सपोर्टलाई बाहिर लैजादा के हुन्छ, बजार भित्रै राख्न के गर्न सकिन्छ भन्ने विषयमा बहस गरेर त्यसतर्फ ध्यान दिन सकेको भए अहिले यो समस्या नआउने बताए ।
त्यस्तै बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले पनि सबै व्यवसायमा आ–आफ्नै खाले समस्या भएको बताए । उद्योगी व्यवसायी र ढुवानी व्यवसायी एक सिक्काका दुई पाटा भएको बताउँदै उनले दुबै पक्षलाई सहज हुनेगरी भाडालाई बैज्ञानिक बनाउन र एकरुपता कायम गर्न सुझाव दिए । कार्यक्रममा संघका बस्तुगत समितिका सभापति उपसभापति सहित व्यवसायीहरु र ढुवानी व्यवसायीहरुको सहभागिता रहेको थियो । बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष टंकप्रसाद पराजुलीले ट्रान्सपोर्ट व्यवसायलाई व्यवस्थित गर्नको लागि ढवाहामा ट्रान्सपोर्ट ग्राम स्थापना भएको बताउंदै त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैको आ–आफ्नै भूमिका हुने र त्यो भूमिका सबैले निर्वाह गर्नुपर्ने बताए ।