२०८१ श्रावण १२

तिलोत्तमाले बनायो अतिथि गृह तथा सभाहल
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १८, बुधबार १६:२६ गते

बुटवल ,१८ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । नगरपालिकाले वडा नं. ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ जना अट्ने क्षमताको सभाहल निर्माण गरेको हो । हाल सभा हलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ ।
कोरोना महामारीको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो । महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।
नगरपालिकाले दुई बिगाहा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको हो । नगरपालिकाका योजना प्रमुख ईञ्जिनियर प्रदीप वनका अनुसार अतिथि गृहको लागत दुई करोड २२ लाख तथा सभाहलको लागत एक करोड ५७ लाख रहेको छ ।

अतिथि गृह तथा सभाहलको बुधबार आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्माले उद्घाटन गरेका थिए । त्यसअवसरमा पूर्वमन्त्री समेत रहेका विश्वकर्माले तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताए ।
कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पूर्व प्रदेश सांसद दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाको बारेमा बोलेका थिए। नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता, उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।