२०८१ श्रावण १२

तराईमा चर्को गर्मीका कारण जनजीवन प्रभावित
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १८, मंगलवार ०९:४२ गते

बुटवल, १८ बैशाख ।
रुपन्देही लगायत तराइ मधेसका जिल्लामा विगत केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ ।
चर्को गर्मी र तातो हावाको लहरका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरहरूलाई समस्या परेको हो । अत्यावश्यक काममा हिँड्ने मानिसबाहेक सडकमा भिडभाड देखिँदैन । दिउँसोको समयमा रुपन्देहीको भैरहवा ,बुटवलका सडक सुनसान जस्तो देखिन्छ ।
दिउँसोको समयमा सुनसान जस्तो देखिने तराइ क्षेत्रका बजार साँझको समयमा भने भिडभाड हुने गरेको छ । साँझको समयमा किनमेल गर्न निस्कने तथा विभिन्न चोक तथा पसलहरूमा काँक्रो, तर्भुज, खर्भुज, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थहरू सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ । भैरहवामा पछिल्लो एक सातायता ४० देखि ४२ डिग्री तापक्रम कायम रहेको छ । जसले गर्दा बालबालिकादेखि वृद्ध वृद्धालाई समस्या हुन थालेको छ । मंगलबार भैरहवाको तापक्रम ४२।६ डिग्री मापन गरिएको छ ।
रुपन्देहीमा पछिल्लो एक सातायता गर्मी अत्यधिक बढेको छ । बिहानैदेखि चल्ने तातो हावा सहितको गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । रुपन्देही लगायतका तराईका जिल्लामा बिहानैदेखि सुरु हुने तातो हावा साँझसम्म लाग्छ । लामो समयदेखि खडेरी परेसँगै रुपन्देहीको विभिन्न ठाउँमा आगलागीका घटना समेत बढेका छन् ।
लामो समयदेखि पानी नपरेपछि वायुमण्डल दूषित भई मानिसमा विभिन्न खालका समस्याहरू देखिएर बिरामीहरू अस्पतालमा आउने गरेको अस्पतालले बताएका छन । गर्मी बढेसँगै अस्पतालमा रुघा, खोकी, ज्वरो, झाडा पखाला लगायत विभिन्न समस्या लिएर बिरामीहरू अस्पताल आउने गरेका छन् । अस्पतालहरूमा अहिले बिरामीको अत्यधिक चाप बढेको छ । तातो हावा तथा तातो लहरले गर्दा अधिक थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने जस्ता समस्याहरू देखिएको हुँदा सजक रहन चिकित्सकले आग्रह गरेका छन् ।

यता अत्याधिक गर्मी हुने जिल्ला भनेर चिनीने नेपालगन्जमा पनि अत्यधिक चर्को गर्मी हुने र सुख्खा तातो हावाको लहर चल्ने गरेको छ । चर्को गर्मी र सुख्खा तातो हावाको लहरका कारण नेपालगन्जको जनजीवन कष्टकर बन्दै गएको छ । नेपालगन्जमा चर्को गर्मी र तातो हावा तथा तातो लहरबाट जनजीवन अझै धेरै कष्टकर बन्ने देखिन्छ ।
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा आगामी केही दिनसम्म अझै तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुँदा सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदी हुनसक्ने देखिएकाले सो बाट बच्न विभिन्न उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
तातो हावा तथा तातो लहरबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, पटक(पटक पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ।