७ जेष्ठ २०८१, सोमबार

उद्योग संघको टोलीले गर्‍यो अवलोकन भ्रमण
  • लुम्बिनी खोज
  • २३ बैशाख २०८१, आईतवार ११:४७

बुटवल, २३ वैशाख ।
संस्थागत भेटघाट र अवलोकनको उद्देश्यले नवलपुर पुगेको रुपन्देही उद्योग संघको टोलीले त्यहाँका उद्योगी व्यवसायीहरुसँग भेटघाट र छलफल गरेको छ । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा नेतृत्वमा गएको भ्रमण टोलीले २१ संस्थागत भेटघाट र अनुभवको साटासाट गर्दै नवलपुर जिल्लाका व्यवसायिक संभावनाका बारेमा छलफल गरेको थियो । सो अवसरमा उद्योगीहरुले औद्यागिक क्षेत्रको विकासका लागि विद्यालय र कलेज तहकै पाठ्यक्रममा औद्योगिक शिक्षा समावेश गरेर राख्न आग्रह गरेका थिए ।
देशलाई आत्मनिर्भर बनाउन स्वदेशमा रोजगारीको सृजना गरेर देशलाई समृद्धि बनाउन उद्योगी व्यवसायीको भूमिका अझै बढेको उनीहरुको भनाई छ ।
रुपन्देही उद्योग संघले आयोजना गरेको औद्योगिक क्षेत्र भ्रमणका अवसरमा नवलपुर उद्योग संघसँग गरिएको अन्तरसंवादमा सबैतिरबाट चपेटामा परेका उद्योगीहरुले जस्तोसुकै कठिन परिस्थितिमा आफ्नो जिम्मेवारी निरन्तर रुपमा सम्ंहालिरहेको बताएका थिए । नेपालमै पहिलो पटक उद्योगीहरुलाई संगठित बनाएर संस्थागत र व्यवसायिक रुपमा अगाडि बढाएको रुपन्देही उद्योग संघले विभिन्न जिल्लामा रहेका उद्योगी र सम्बद्ध संस्थाहरुले गरेको कामको अवलोकन गराउन कार्यसमिति, सल्लाहकार तथा पूर्व अध्यक्षहरुको टीम बनाएर अन्तरक्रिया तथा औद्योगिक क्षेत्रको भ्रमण गराएको हो ।
नवलपुर उद्योग संघमा गरिएको कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले औद्योगिक विकासको क्षेत्रमा संस्थागत समन्वयलाई निरन्तरता दिँदै नियामक निकायसँग उद्योगीको पक्षमा आवश्वक कानुन निर्माणमा साझेदारी र उद्योगीको समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको बताए ।
उनले पछिल्लो अवस्थामा उद्योगीहरुले भोगेका पीडालाई कम गर्न सबै क्षेत्रका उद्योगीको एउटै आवाज आउनुपर्ने र आधुनिक प्रविधिलाई पछ्याउने गरी अगाडि बढ्नुपर्ने बताए । रुपन्देही ,नवलपुर, नवलपरासी, चितवनमा रहेको उद्योग संघ तथा सम्वद्ध उद्योगीहरुसँग निरन्तर साझेदारी र सहकार्यमा कामहरु भइरहेको र अब पनि त्यसलाई निरन्तरता दिने उनको भनाइ थियो ।
नवलपुर उद्योग संघका अध्यक्ष केबि रानाले गण्डकी प्रदेशको मुख्य औद्योगिक क्षेत्र रहेको नवलपुरमा पछिल्लो समय संघलाई संस्थागत विकासमा अगाडि सारिएको बताए । प्रदेशको पहिलो औद्योगिक ग्राम, सबैभन्दा धेरै राजश्व दिने उद्योग आफ्नो जिल्लाका उद्योग भएको बताउँदै उनले सस्थागत रुपमा सहकार्यका लागि रुपन्देही उद्योग संघलाई आग्रह गरे । संघीय संरचनापछि ०७५ सालमा नवलपुरमा उद्योग संघ स्थापना भएपछि धेरै उद्योगीको चाप रहेको उनको भनाइ थियो ।
रानाले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर नयाँ योजना अगाडि सारेको, एक पालिका एक औद्योगिक ग्राम अनुसार नवलपुरको बौदिकालीमा काम थालेको र अन्य ८ वटा पालिकामा पनि समन्वय गरिरहेको बताए । उनले रुपन्देही र नवलपुर बीचको सम्बन्धको बारेमा समेत चर्चा गर्दै सहकार्य र अनुभव साटासाट गर्दै अघि बढ्ने समेत बताए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक, बोनिन पिया, माधवप्रसाद पौडेलले नीतिगत तहमै भएका कमजोरी सच्चाउन र उद्योगीहरुको समस्या पहिचान गरी समाधानको पहल गर्न निरन्तर लाग्नुपर्ने सुझाव दिँदै अन्तरजिल्लाका उद्योगीहरुबीच सम्बन्ध बिस्तार हुनुपर्ने बताए ।
संस्थागत भेटघाटसँगै संघको टोलीले पश्चिम नवलपरासी, नवलपुर, पूर्वी पाल्पाका विभिन्न औद्योगिक क्षेत्र, कालीगण्डकी करिडोरको भविश्य र यसबाट त्यो क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल गरेको थियो । टोलीले नवलपुरमा रहेको सिजी उद्योगका सबै उत्पादन र प्रविधिको प्रयोगका विषयमा सुक्ष्म अवलोकन गर्दै उद्योगको प्रशासन तथा प्राविधिक व्यवस्थापनका विषयमा गहिरो छलफल गरेको थियो । सिजीबाट दैनिक उत्पादन सामग्री तथा यसको व्यवस्थापनका विषयमा भ्रमण टोलीलाई जानकारी गराइएको थियो ।
दुईदिने भ्रमणमा गएको २६ सदस्यीय टोली शनिबार बुटवल फर्केको हो । संघका पूर्व अध्यक्षहरु, पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्यहरु एवं प्रमुख कार्यकारी अधिकुृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको कार्यक्रमको संयोजन संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले गरेका थिए ।