७ जेष्ठ २०८१, सोमबार

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान
  • लुम्बिनी खोज
  • २५ बैशाख २०८१, मंगलवार ०९:०७

काठमाडौ, २५ बैशाख ।

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।

तेस्रो चरणमा आसामका चार, बिहारका पाँच, छत्तीसगढका सात, गोवाका दुई, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका चार र केन्द्रशासित नगर हवेली एवं दामनका दुई स्थानमा चुनाव हुँदै छ।

यस चरणमा एक सय २० जना महिलासहित एक हजार तीन सय उम्मेदवार चुनावी मैदानमा छन्। करिब १७ करोड मतदाता आजको निर्वाचनमा सहभागी हुँदै छन् जसका लागि एक लाख ८५ हजार मतदानस्थल रहेको आयोगको भनाइ छ।

आजका लागि तय भएको जम्मु–कस्मिरको अनन्तनाग–रजौरीको निर्वाचन स्थगित गरिएको र उक्त निर्वाचन आगामी मे २५ का लागि तय भएको निर्वाचन आयोगले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादस्थित निशान माध्यमिक विद्यालयको मतदानस्थलमा आज मतदान गरे। यसअघि प्रधानमन्त्री मोदीले आमजनतालाई तेस्रो चरणको मतदानमा सक्रिय र व्यापक रूपमा सहभागी हुन आह्वान गरेका छन्।

तेस्रो चरणको यस निर्वाचनमा केन्द्रीय गृहमन्त्री अमित शाह, मध्यप्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र दिग्विजय सिंह, मन्त्रीहरू ज्योतिरादित्य सिन्दिया, मनसुख मान्डवीय, समाजवादी पार्टीकी नेतृ डिम्पल यादव, भारतीय कम्युनिस्ट पार्टीका नेता सुप्रिया सुलेसमेतका नेता चुनावी प्रतिस्पर्धामा छन्।

यसअघि सन् २०१९ को चुनावमा आज भइरहेका ९३ स्थानमध्ये भारतीय जनता पार्टीले ७२ स्थानमा जित हासिल गरेको थियो। आजको तेस्रो चरणको निर्वाचनपछि भारतीय लोकसभाको कुल सिट पाँच सय ४० मध्ये आधामा मतदान सम्पन्न हुनेछ। सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखबाट सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदै छ।

यस चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वको भारतीय जनता पार्टीले लगातार तेस्रोपटक विजय हासिल गर्ने गरी प्रचार गरिरहेको छ। एजेन्सी