७ जेष्ठ २०८१, सोमबार

नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
  • लुम्बिनी खोज
  • २६ बैशाख २०८१, बुधबार १६:३१

बुटवल,२६ बैशाख ।

‘मनैदेखि सेवा’ भन्ने नाराका साथ १६०औँ विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका अवसरमा यो दिवस विश्वभर मनाइन्छ ।

सन् १८२८ मे ८ मा स्वीट्जरल्याण्डको जेनेभामा ड्युनाको जन्म भएको थियो । ड्युनाले सल्फेरिनोमा भएको युद्धका घाइते सैनिकको बिना भेदभाव गरेकाे उद्धार र सेवाले नै सन् १८६३ मा रेडक्रसको जन्म दिएका थिए । सन् १८५९ मा ड्युनाद्वारा लिखित ‘मेमोरी अफ सोल्फेरिनो’ (हृदयस्पर्शी यात्रा संस्मरण ) ले  प्रथम नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेको थियो । यस वर्षको नाराले रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपि भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई समग्रमा सङ्केत गर्दछ ।

रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्दछ । यसले प्रत्येक वर्ष सशस्त्र सङ्घर्ष, प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला विश्वभरिका नौ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पुर्‍याउन सकेको छ भने यस अभियानको एक सदस्यको रूपमा नेपाल रेडक्रसले वार्षिकरूपमा करिव ३५ लाख व्यक्तिलाई सेवा पु-याउँदै आएको छ ।

हाल रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय संस्था हो । यस अभियानमा विश्वभरका करिब १० करोडभन्दा बढी व्यक्ति आवद्ध छन् ।

आज यहाँ आयोजित कार्यक्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का नेपालस्थित राष्ट्रिय प्रतिनिधि मण्डललका प्रमुख अजमत उल्लाले रेडक्रस र रेडक्रसकर्मीले गर्ने काम र पुर्‍याउने सेवा मनैदेखिको हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष राधा नेपालीले यस वर्षको विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्दै मानवतालाई जीवित राख्न रेडक्रसले प्रदान गर्ने सेवाहरू मानवीय सेवाभावले ओतप्रोत हुनुपर्ने बताइन् । उनले सोसाइटीद्वारा सञ्चालित गतिविधिहरूमा मानवता झल्केको बताउँदै रेडक्रसको शिर उच्च राख्न रेडक्रसकर्मीहरू अहोरात्र लागिरहेको बताइन्  ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) रेडक्रस अभियानको एक अभिन्न अङ्गका रूपमा विसं २०२० भादौ १९ गते स्थापना भएको थियो । हाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५  उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलहरू रहेका छन् । समुदायस्तरसम्म पैmलिएका यी साङ्गठनिक निकायहरूमा नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।