२०८१ श्रावण १२

सरकारबाट बाहिरियो जसपा नेपाल
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ३१, सोमबार ०७:४६ गते

काठमाण्डौं ३१ बैशाख । जसपा नेपाल सरकारबाट बाहिरिएको छ । जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उपप्रधानमन्त्रीबाट राजीनामा दिएको पत्र पठाएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
आजै बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उनले राजीनामा बुझाएका हुन् । वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।
अघिल्लो साता जसपा नेपाल विभाजनसँगै बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी अहिले सरकारमै छ ।
एमाले र माओवादीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि नैतिक रूपमा संकटमा परेका यादवले सोमबार राजीनामा दिएका हुन् ।

१२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला आइतबार विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई सोमबार निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसद्मा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन् ।