२०८१ श्रावण १२

नवीनमा ओजेटी परिचालन सम्बन्धी अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३, बिहीबार १०:३३ गते

बुटवल,३ जेठ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। देवीनगरमा ओजेटी परिचालन सम्बन्धी अभिमुखीकरण बिहिबार सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले विद्यार्थीहरूलाई निरन्तर मेहनतका साथ खटेर सिर्जनात्मक तवरले नयाँ सोचका साथ काम सिक्न आग्रह गरे । विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले नवीन औद्योगिक मा।वि। जस्तो राष्ट्रकै उत्कृष्ट विद्यालयमा भर्ना भई सिभिल इन्जिनियरिङ विषयमा कक्षा १२ सम्मको शिक्षा पूरा गर्ने अवसर प्राप्त गरेकोमा बधाई दिँदै सक्षम नागरिकको रूपमा स्थापित हुन र लगनशील भएर लाग्न अनुरोध गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका युवा तथा खेलकुद शाखा प्रमुख सहायक निर्देशक कोपिला ज्ञवाली, सिभिल इन्जिनियरिङ कक्षा ११ र १२ का संयोजक इन्जिनियर बिमल अर्याल, प्रशिक्षक इन्जिनियर साम्व पन्थी, कक्षा ९ र१० का संयोजक इन्जिनियर गणेश थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कक्षा १२ सिभिल इन्जिनियरिङ अध्ययन पश्चात १२०० घण्टा कार्यस्थलमा खटिनुपर्ने, काम गरेर प्रतिवेदन लेखन र प्रस्तुतिकरण गर्नुपर्ने व्यवस्था भएकोले निज विद्यार्थीहरूको वार्षिक परीक्षा वैशाख २६ गते सम्पन्न भएको र विद्यार्थीहरुलाई वैशाख २८ गतेबाट कार्यस्थलमा खटाउने प्रक्रिया सुरु भई सकेको र उक्त कार्यस्थलमा राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार लगबुक तयार गर्नुपर्ने, छनौट गरेको कार्यस्थलमा अनुशासित रूपमा सिकाईमा सहभागी हुनुपर्ने र समन्वय गर्नुपर्ने भएकोले विद्यार्थीहरूलाई ओजेटिको अभिमुखीकरण आयोजना गरिएको हो ।
कार्यक्रममा करातेमा लुम्बिनी प्रदेशबाट स्वर्ण पदक विजेता सोही कक्षाका राहुल चौधरीलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले सम्मान समेत गरेका थिए । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा सिभिल इन्जिनियरिङकी विद्यार्थी रमा थामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।