२०८१ श्रावण १२

गुल्मीको रिडीमा आँखा उपचार केन्द्रको स्थापना
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ६, आईतवार ०९:५८ गते

बुटवल, ६ जेठ ।
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका रिडी बजारमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो ।
सेवा शुभारम्भ गदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुरूप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताए । यस पालिकामा आँखा उपचार केन्द्रको स्थापना पछि आँखा सम्बन्धी रोगका धेरै बिरामीहरू लाभान्वित हुने बताए । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्न सेवाहरू केन्द्रबाट उपलब्ध गराइने उनले बताए ।

स्थापना गरिएको आँखा उपचार केन्द्रलाई नमुना आँखा उपचार केन्द्र बनाउन गाउँपालिकाले सधैँ सहयोग गर्ने बताइएको छ । नजिकै आँखा उपचार सेवा पाइने भन्दै स्थानीय नागरिकहरू निकै खुसी भएका छन् । रुरुक्षेत्र गाउँपालिका सधैँ नागरिकको सेवामा समर्पित रहेको भन्दै आँखा उपचारमा संवेदनशील बन्दै नागरिकलाई निस्शुल्क मोतियाबिन्दुको शल्यक्रियाको व्यवस्था समेत मिलाएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
यस जिल्लाको छैटौँ आँखा उपचार केन्द्रका रूपमा रिडी बजारमा स्थापना गरिएको हो । रिडी बजार अन्य स्थानीय तह र अन्य जिल्लाको केन्द्रबिन्दु रहेको हुँदा केन्द्रले यस क्षेत्रका धेरैजसो नागरिकको आँखा उपचारमा ठुलो टेवा पुर्‍याउने विश्वास लिइएको नेपाल नेत्र ज्योति सङ्घ गुल्मीका सभापति अखिलेश्वर पाण्डेले बताए ।