२०८१ श्रावण १२

बुटवलमा श्रमाधान रोजगार मेला हुने
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २१, सोमबार १४:०९ गते

बुटवल २१ जेठ ।
यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेका हुन्।
संघ, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा आयोजना गर्ने मेलामा ४० वटा स्टलमा औद्योगिक प्रतिष्ठानहरूले रोजगारीमा प्रवेश गर्ने बाटो खोलिदिने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि यो कार्यक्रम सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।
‘मेलामा सीप विकास, कार्यशाला, नेटवर्किङ सत्र, स्टलहरू र रोजगारीका अवसरबारे प्यानल डिस्कसनहरू हुनेछन्,’ उनले भने, ‘मेलामा ४० वटा स्टल हुनेछन् । जसमा बायोडाटा निर्माण, सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेशिक रोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू मेलामा हुनेछन् ।’ श्रमाधान रोजगार मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा अघि बढ्ने प्रमुख पाण्डेयले बताए ।
श्रम कार्यालयका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण पनि गरिने बताए ।
मेला बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुनेछ । त्यस्तै सुरक्षित आप्रवासन, रोजगार तथा रोजगारीको खोजी गर्नेहरूको आवश्यकता सम्बन्धी अन्तरक्रिया, कार्यक्रम पनि गरिने छ ।