२०८१ श्रावण १२

जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २३, बुधबार १०:०४ गते

काठमाडौँ,  २३ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका बासिन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरू थपिँदै गएको पनि उल्लेख गरे ।
राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्यस् भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाई प्रस्ट पारेको उल्लेख गरे ।
जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरूको सम्बोधनमा नेपालले राष्ट्रिय स्तरमा विभिन्न कार्य गर्दै आएको बताउँदै सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धि गरी उत्थानशीलता हासिल गर्न सहयोग गर्ने बताए । उनले सो कार्यक्रमले उच्च हिमशृङखला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन हुने बताए ।
राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको यस अवसरलाई जीवन, समृद्धि, र आशाको शक्तिशाली प्रतीकको रूपमा बिरुवा रोपेर मनाउन गइरहेको उल्लेख गर्दै यो एउटा प्रतीकात्मक इसारा हो जसले भावी पुस्ताहरूका लागि वातावरण संरक्षण गर्ने हाम्रो अटल समर्पणलाई झल्काउने बताए । राष्ट्रपति पौडेलले वातावरण संरक्षणका लागि चौतारी र पोखरीको हाम्रो पुरानो सभ्यताको जगेर्ना गर्न आवश्यक रहेको बताए ।
सो क्रममा राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पौडैलले पलाँसको बिरुवा रोपेर वृक्षरोपरणको शुभारम्भ गरेका थिए । भने उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले वृक्षरोपरण गरेका थिए ।
कार्यक्रममा मुख्य सचिव वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदूत तथा दातृ निकायका प्रमुखहरूको उपस्थिति थियो ।