२०८१ श्रावण १२

बुटवलका प्रधानाध्यापकहरुले गरे शैक्षिक अवलोकन भ्रमण
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २५, शुक्रबार १४:५१ गते

बुटवल २५ जेठ ।
बुटवल उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीहरूको शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिकाले बुटवल शैक्षिक क्षेत्रमा हवको रुपमा स्थापित भएकोमा त्यसलाई निरन्तरता दिन र शिक्षामा थप सुधार गर्न शैक्षिक अवलोकन भ्रमण कार्यक्रम आयोजना गरेको हो। त्यसलाई कार्यान्वयन गर्ने क्रममा जेठ २१ गतेबाट प्रारम्भ भएको अवलोकन भ्रमण पहिलो दिन गुल्मी जिल्लाको संघीय नमुना महेन्द्र आदर्श मावि वामीमा पुगेको थियो । त्यहा भएका असल अभ्यासहरू आदानप्रदान गर्ने क्रममा बुटवल उपमहानगरपालिकाद्वारा भ्रमण नेतृत्व गरेका ज्ञानोदय मा.वि. बुटवलका प्रधानाध्यापक टिकराम शर्मा पौडेलको नेतृत्वको प्रतिनिधिले विद्यालयमा व्यापक अन्तरक्रिया गरेको थियो ।
उक्त अन्तरक्रियामा महेन्द्र आदर्श मा.वि.का प्र अ देवीराम शर्माले समग्र विद्यालयले हालसम्म भौतिक, आर्थिक, व्यवस्थापकीय र शैक्षिक सुधारमा गरेको असल अभ्यासहरू प्रस्तुत गरेका थिए। वि.स. २०१६ सालमा स्थापना भएको विद्यालयमा हाल शिक्षक तथा कर्मचारी सरकारी स्रोतमा ४१ र विद्यालय स्रोतमा ११ गरी ५२ जना शिक्षक तथा कर्मचारीहरू कार्यरत रहेका छन् । यस विद्यालयमा विद्यार्थी एक हजार सात सय रहेका छन्। विद्यालयमा कक्षा १–५ पूर्ण अङ्ग्रेजी माध्यममा र कक्षा ६–१२ अङ्ग्रेजी र नेपालीमा अध्यापन हुन्छ । विद्यालयमा कक्षा ११ र १२ मा सिभिल इन्जिनियरिङ, व्यवस्थापन, मानवीकी र शिक्षा समूह सञ्चालनमा छ । विद्यालय सञ्चालनको स्रोतमा धान्यान्चल महायज्ञ, नमुना विद्यालय अन्तर्गत संघीय अनुदान र अभिभावक सहयोग रहेको छ । विद्यालयमा छात्रछात्राको लागि ४० जनाको क्षमता भएको छात्रावासको व्यवस्था रहेको छ । जसमा स्थानीय पालिकाको सिफारिसमा गरिब तथा जेहेन्दार चार जनाले निःशुल्क छात्रावासको सुविधा पाउने गर्छन् र एक वटा स्कुल वस पनि रहेको छ ।
उक्त अवसरमा आयोजित अन्तरक्रियामा भ्रमण कार्यदलका संयोजक ज्ञानोदय मा.वि.का प्रधानाध्यापक टिकराम शर्मा पौडेलको अध्यक्षतामा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा महेन्द्र नमुना मा.वि. का पूर्व सहायक प्रधानाध्यापक एवं न्यू होराईजन मा.वि. बुटवलका उप प्राचार्य वासुदेव अर्यालले समेत धारणा राखेका थिए ।
जेठ २२ गते दोस्रो दिन देवीबक्स गुल्म ढोरपाटनमा ढोरपाटन राष्ट्रिय निकुञ्जको समग्र अवस्थाको बारेमा बाग्लुङ, पूर्वी रुकुम र म्याग्दी जिल्लामा ओगटेको क्षेत्र लगायतको सम्बन्धमा देवीबक्स गुलम ढोरपाटनका गुल्मपति सेनानी विनोद विक्रम बस्नेत, उपसेनानी नरेन्द्र मल्ल र अम निर्मल खनालले विस्तृत विवरण प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको संयोजन जनता मा.वि.की प्रधानाध्यापक आशा बस्नेत थापाले गरेकी थिइन् । प्रदर्शनात्मक प्रस्तुतिकरण गरेकोमा भ्रमण दलका संयोजक ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टिकराम शर्मा पौडेलले विशेष आभार व्यक्त गरेका थिए ।
तेस्रो दिन टोलीले लुम्बिनी प्रदेशको पुरानो विद्यालय २००४ सालमा स्थापना भएको रुक्मिणी माध्यमिक विद्यालय पूर्वी रुकुमको अवलोकन गरेको थियो । उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले असल अभ्यास सेयरिङ गर्दै नर्सरी देखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा विज्ञान, वालीविज्ञान, व्यवस्थापन र शिक्षा समूह अध्यापन हुने, विद्यालय संघीय नमुना विद्यालयको आर्थिक सहयोगले विद्यालय व्यवस्थित रुपमा सञ्चालन भएको बताए । कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यममा र अन्य नेपाली माध्यममा पढाइ हुने र विद्यालयले ९० जनाको क्षमता भएको छात्राहरूको लागि छात्रावास निःशुल्क व्यवस्थापन गरेको छ । आर्थिक अवस्था दयनीय भएका छात्राहरूलाई छात्रावासमा खानाको लागि विद्यालयले दाताहरू पनि व्यवस्था गर्ने गरेको छ । विद्यालयमा अनुशासन कायम गर्न प्रत्येक दिन बिहान र बेलुकी दुईपटक प्रार्थना गर्ने बिहानमा सांगीतिक पिटी दैनिक गर्ने, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर उही दिन विद्यार्थीहरूलाई उत्प्रेरणा दिन पुरस्कारको व्यवस्था गरेको छ । त्यस्तै शिक्षक विदामा बसेको समयमा कक्षा खाली हुन नदिनको लागि दैनिक एक पिरियड शिक्षकलाई खटाउने र पारिश्रमिक दिने व्यवस्था गरेको छ । विद्यालयमा ३८ जना सरकारी स्रोतका शिक्षक तथा सात जना कर्मचारीहरु गरी ४५ जना कार्यरत रहेको र विद्यार्थी १,२०० भन्दा बढी अध्ययनरत रहेका छन् ।
उक्त कार्यक्रम बुटवल उपमहानगरपालिका भ्रमण कार्यदलका संयोजक तथा ज्ञानोदय माविका प्रधानाध्यापक टिकराम शर्मा पौडेलको अध्यक्षतामा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल शिक्षक महासंघ पूर्वी रुकुमका अध्यक्ष मान बहादुर बस्नेत, नेपाल शिक्षक महासंघ बुटवलका अध्यक्ष उपेन्द्र ज्ञवाली, रुक्मिणी मा.वि. का शिक्षक घनश्याम दाहाल लगायतले सहजीकरण गरेका थिए ।
बुटवल उपमहानगरपालिकाले भ्रमणलाई व्यवस्थित र प्रभावकारी गराउनका लागि ज्ञानोदय मा.वि.का प्रधानाध्यापक टिकराम शर्मा पौडेलको संयोजकत्वमा मोतिपुर मा.वि.का प्रधानाध्यापक लक्ष्मण मरासिनी, सिद्धेश्वर लालकुमारी मा.वि.का प्रधानाध्यापक दिनानाथ गिरी, तिलोत्तमा मा.वि.का प्रधानाध्यापक ईश्वरी प्रसाद रेग्मी र प्रगति मा.वि. का प्रधानाध्यापक शिव कुमारी अर्याल रहेको पाँच सदस्य कार्यदल गठन गरेको थियो ।
नेपालमा संयुक्त लगानीमा सञ्चालित बैंकहरूले व्यवस्थापनलाई फ्रेस गराउनको लागि ँयचअभ ीभबखभ को प्रावधानसँगै बुटवल उपमहानगरपालिकाले पनि २०७५ देखि प्रधानाध्यापकहरुलाई शैक्षिक अवलोकन भ्रमण कार्यक्रम सुरु गरेकोमा पहिलो पटक बाग्लुङ, म्याग्दी, कास्की र तनहु जिल्लाका विद्यालयहरू अवलोकन गरेको थियो । २०७६ मा पूर्वी नेपालको इलाम देखि सिलगढीसम्मको अवलोकन भ्रमण गरेको थियो । २०७९ मा पश्चिम नेपालको डडेलधुरा, डोटी, कैलाली जिल्लाको भ्रमण गरेको थियो । २०८१ मा गुल्मी, ढोरपाटन, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थल लगायतको अवलोकनको क्रममा ढोरपाटन सामुदायिक होमस्टे, पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा रहेको होटल चाइनाका प्रोप्राइटर लोकेन्द्र शाही र पार्किङ होटल दैलेखका प्रोप्राइटर निर्माण व्यवसायी रूपक थापाले अवलोकनको क्रममा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै भ्रमण कार्यदलले हार्दिक आभार व्यक्त गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन रूपन्देहीका अध्यक्ष धनिश्वर गौतम, कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली, नयाँगाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, नवरत्न मा.वि. सहायक प्रधानाध्यापक पुष्कर भट्टराई, साधना महिला विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरे गौतमलगायतले जिज्ञासा राखेका थिए ।
बुटवल उपमहानगरपालिकाले यस पटकदेखि संस्थागत विद्यालयका सञ्चालक तथा प्राचार्यहरूलाई पनि भ्रमणमा सहभागी गराएर नयाँ अभ्यासको सुरुवात गरेको छ । यसै क्रममा प्याव्सन बुटवलका अध्यक्ष एवं अन्नपूर्ण मा.वि.का प्राचार्य मित्र हरि आचार्यको नेतृत्वको टोली पनि सोही दिन बाग्लुङ, म्याग्दी, जोमसोम लगायतको क्षेत्रको भ्रमण गरेको छ । सो टोलीले जनहित नमुना मा.वि. जोमसोम, धौलागिरी बोर्डिङ स्कुल, जनवाल नमुना मा.वि. मार्फा र गल्कोट मा.वि. गल्कोट हटियाको शैक्षिक अवलोकन भ्रमण गरेको छ । सामुदायिक विद्यालयहरूको तर्फबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक,सहायक प्रधानाध्यापक, शिक्षकको पेशागत संगठनका अध्यक्ष, विद्यालय कर्मचारी, बाल विकास गरी ३८ जनाको टोली रहेको थियो भने निजी विद्यालयको तर्फबाट भ्रमण दलमा ३२ जनाको सहभागिता रहेको थियो ।
भ्रमण कार्यदलका संयोजकहरूले बुटवल उपमहानगरपालिकाको तर्फबाट मायाको चिनो तथा बुटवल उपमहानगरपालिकाको क्यालेन्डर हस्तान्तरण गरेका थिए । २४ गतेसम्म भएको भ्रमणको लागि बुटवल उपमहानगरपालिकाले ४ लाख बजेट विनियोजन गरेको थियो ।