२०८३ आश्विन २

प्रदेश र स्थानीय तहको अधिकार पूर्ण प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण
  • लुम्बिनी खोज
  • २०८३ आश्विन २, शुक्रबार १३:३३ गते

बुटवल २ असोज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार पूर्ण रूपमा प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। संविधान दिवसका अवसरमा राप्ती उपत्यका देउखुरीस्थित प्रदेश प्रशासनिक परिसरमा शुक्रबार आयोजित सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय तहले संविधानबाट प्राप्त गर्नुपर्ने सबै अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएको उल्लेख गर्दै बाँकी अधिकार हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘संविधानले दिएका अधिकारहरू अहिले पनि प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन। संविधानले निर्दिष्ट गरेका अधिकारहरू प्रदेश र स्थानीय तहमा दिन संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘संवैधानिक अधिकार कार्यान्वयन गर्न जरुरी छ।’

मुख्यमन्त्री आचार्यले संविधान र लोकतान्त्रिक व्यवस्थाका लागि योगदान तथा बलिदान गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति उच्च सम्मान प्रकट गरे। प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेअनुसार प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो। सरसफाइ अभियानले प्रदेश प्रशासनिक परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउने उद्देश्य राखेको छ।

कार्यक्रममा प्रमुख सचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ तथा संरक्षणको काम अघि बढाइएको बताए। उनका अनुसार परिसरलाई २३ वटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रका लागि सरसफाइ केन्द्र तोकिएको छ।

सरसफाइपछि परिसरमा फलफूलका बिरुवा रोप्ने र तिनको संरक्षणलाई समेत अभियानकै रूपमा अघि बढाइने प्रमुख सचिव कुँवरले बताए। परिसरको सरसफाइ, सुधार र संरक्षणको अवस्थाको मूल्यांकन गर्न प्रदेश योजना आयोगका सचिवको नेतृत्वमा मूल्यांकन टोलीसमेत गठन गरिएको छ। मूल्यांकनका आधारमा उत्कृष्ट काम गर्ने क्षेत्रलाई पुरस्कृत गर्ने योजना रहेको उनले जानकारी दिए। प्रशासनिक परिसरको सुधार र संरक्षणको कामलाई निरन्तरता दिँदै स्वच्छ तथा व्यवस्थित परिसर निर्माणमा जोड दिइने उनको भनाइ थियो।