२०८१ आश्विन ६

एकीकृत समाजवादीका केन्द्रीय नेता स्वत: महाधिवेशन प्रतिनिधि हुने
  • लुम्बिनी खोज
  • २०८१ असार २, आईतवार १०:०२ गते

    काठमाडौ, २ असार ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ ।

तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि केन्द्रीय परिषद् बैठकले महाधिवेशनमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्न तथा नेतालाई कार्यकर्ताप्रति थप जिम्मेवार बनाउन पार्टीको केन्द्रीय अध्यक्षदेखि सामान्य नेतासमेत कार्यकर्ताबाट अनुमोदित भएर महाधिवेशन प्रतिनिधि आउनुपर्ने व्यवस्था गरेको थियो ।

केन्द्रीय आयोगका सदस्यहरू पनि केन्द्रीय नेतासँगै प्रतिनिधिका रूपमा छनोट हुनेछन् । विभिन्न निर्वाचन क्षेत्र तथा कलस्टरबाट चुनिएर आउने व्यवस्था कायमै राखिएकाले त्यस क्षेत्रबाट आउने प्रतिनिधि तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुनुपर्नेछ ।