२०८१ आश्विन ६

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै
  • लुम्बिनी खोज
  • २०८१ असार १५, शनिबार ०९:५० गते

बुटवल, १५ असार ।
‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ मनाइँदैछ ।
प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ । यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो ।धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने हेतुले वि।सं। २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।
यसै सन्दर्भमा यस वर्ष ुजलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धिु भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको छ ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको छ ।
आज चितवनको बछौलीमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा रोपाइँ मूल समारोह गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइएको छ ।