२०८१ आश्विन ६

सफलताका लागि इमान्दार प्रयास गर्नुपर्छः ओली
  • लुम्बिनी खोज
  • २०८१ असार २०, बिहीबार १६:०६ गते

बुटवल २० असार ।
नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीले सफलताका लागि इमान्दार प्रयास गर्नुपर्ने बताएका छन् ।
एसइईमा ३ दशमलव ६ भन्दा माथि अंक प्राप्त गरेका रुपन्देहीका विद्यार्थीहरुको सममानका लागि बिहीबार नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीले बुटवलमा  गरेको कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुले आफूलाई चिनेर इमान्दारीका साथ प्रयास गर्नुपर्नेमा जोड दिए । सफलताका लागि इमान्दार हुनुपर्नेमा जोड दिएका ओलीले समयको सदुप्रयोग गरेर अगाडी बढ्न सुझाव पनि दिए । गलत संगत गर्न नहुने र दिमाग भित्र घमण्ड आउनै दिन नहुने बताए ।
यस पटकको एसइईमा किन धेरै असफल भए भन्ने प्रश्न उठाएका ओलीले शिक्षकहरुले तालिम प्राप्त गर्न नपाउदा गुणस्तरका हुन नसकेको धारणा राखे  । उनले एसइईमा पूरक परीक्षा दिने विद्यार्थीहरूलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने पनि बताए ।
ओलीले विज्ञ शिक्षकहरूबाट मुख्य मुख्य विषयहरूको निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने बताए।  केही दिनभित्रै विषय विज्ञ शिक्षकहरूबाट मुख्य विषयहरूको अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै उनले ‘मुख्य गरी अंग्रेजी, गणित, विज्ञान, सामाजिकलगायतका विषयको कक्षा सञ्चालन गर्ने बताए ।
फेसबुक पेज र अनलाइनमार्फत निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको ओलीले बताए। उनले अनलाइन कक्षाका लागि आफ्नो फेस बुक पेजमा सम्पर्क नम्वर उपलब्ध गराउन पनि आग्रह गरे । उनले अनलाइन कक्षाका लागि सम्पर्क गर्न मोवाइल नम्वर पनि उपलब्ध गराए ।
काठमाण्डौंबाट गुणस्तर शिक्षकबाट अनलाइन कक्षा सञ्चालन गर्ने र यसले विद्यार्थीहरुलाई फाइदा पुग्ने उनले बताए ।
कार्यक्रममा ओलिले नेपाली पुर्खाहरुको चर्चा पनि गरे हरेक क्षेत्रमा पुर्खाहरु अगाडी रहेको भन्दै त्यस्ता पुर्खाका सन्तानहरु सफलताको मार्गमा अगाडी बढ्नुपर्ने धारणा पनि उनले राखे ।
नेपाल सधैँ स्वतन्त्र र स्वाभिमानी रहेकोले कुनै पनि मुलुकका सामु कहिल्यै झुक्न नपरेको बताएका ओलीले भूगोलमा सानो भए पनि स्वाभिमानमा देश सधैँ उँचो रहेको बताए ।
अनेरास्ववियू रुपन्देहीले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २८ जना विद्यार्थीलाई सम्मान गरेको हो।
कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्यार्थीहरुको शैक्षिक यात्राको सफलताको शुभकामना दिएका थिए ।