२०८१ आश्विन ६

शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी वृहत अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०८१ असार २९, शनिबार १२:४९ गते

बुटवल, २९ असार ।
रुपन्देहीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अपनाउनुपर्ने विविध पक्षहरुका बारेमा शनिवार बुटवलमा बृहत अन्तरक्रिया गरिएको छ । एसइईको नतिजा देखि यहाको समग्र शिक्षाको चर्चा गरिएको कार्यक्रममा रूपन्देही जिल्लाको नतिजा सुधारका लागि दिनुपर्ने प्राथमिकताका बारेमा पनि गहन छलफल भएको छ । आगामी दिनमा शैक्षिक सुधार गर्न अपनाउनुपर्ने बाटो र रूपन्देही जिल्लाको समग्र पक्षको जानकारी लिन र सुधार गर्न सघन अनुगमनको थालनी सम्बन्धमा समेत कुरा उठाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीको आयोजनामा सिकाई सहजीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी माध्यमिक तहका प्रधानाध्यापकहरूबीच गरिएको वृहत अन्तरक्रिया रुपन्देहीका विद्यालयहरुको अवस्थाका बारेमा पनि चर्चा गरिएको कार्यक्रममा सहभागि नवीन औद्योगिक कदरबहादुर रीता मा.विका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।
रुपन्देहीमा २ हजारभन्दा बढी विद्यार्थी भएका ९ वटा सामुदायिक विद्यालय
अन्तरक्रियामा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाइ प्रमुख उपसचिव माधव बन्जाडेले सहजीकरण गर्दै विद्यार्थी विवरण, शिक्षक दरबन्दी, विद्यालयहरूको विवरण प्रस्तुत गरेका थिए । उनले सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएका नेपालका १५ वटा विद्यालयहरूमध्ये कालिका मानवज्ञान मा.वि, शान्ति नमुना मा.वि, कान्ति मा.वि र नवीन औद्योगिक कदरबहादुर रीता मा.वि रूपन्देहीका हुनु रूपन्देहीको लागि गर्वको विषय भएको बताए । त्यस्तै २ हजारभन्दा बढी विद्यार्थी भएका रूपन्देहीमा नौ वटा सामुदायिक विद्यालय रहेको जानाकारी पनि उनले गराए ।
एसइइ २०८० को समग्र अवस्था र सबैभन्दा ठूलो एसइइको परीक्षा केन्द्र नवीन औद्योगिक कदरबहादुर रीता मा.वि रहेको र २०८० को एसइइमा विभिन्न सूचकको आधारमा रूपन्देहीमा नवीन औद्योगिक कदरबहादुर रीता मा.वि उत्कृष्ट केन्द्र घोषणा गरिएको भन्दै एसइइ परीक्षाको सवल पक्षहरू राखेका थिए । उनका अनुसार २०८० को एसइइ रूपन्देहीमा ४६.५९ प्रतिशत उत्तीर्ण भएको जिपिएगत विद्यार्थी विवरण, २०८० को नतिजामा ११ वटा सामुदायिक विद्यालयहरू ननग्रेड भएको, पालिकागत नतिजामा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका अगाडि रहेका छन् । रूपन्देही जिल्लाको नतिजा सुधारका लागि दिनुपर्ने प्राथमिकता, आगामी दिनमा शैक्षिक सुधार गर्न अपनाउनुपर्ने बाटो र रूपन्देही जिल्लाको समग्र पक्षको जानकारी लिन र सुधार गर्न सघन अनुगमनको थालनी सम्बन्धमा पनि उनले सहजीकरण गरेका थिए ।
अर्का सहजीकरण कर्ता शैक्षिक अगुवा तथा अभियन्ता कालिका मानवज्ञान मा.वि का पूर्व प्रधानाध्यापक तथा हाल बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले प्रधानाध्यापक कस्तो हुनुपर्छ देखि प्रधानाध्यापकहरूले ध्यान दिनुपर्ने कुराहरू राखेका थिए । सिकाई तथा योजना निर्माण, शैक्षिक सत्रको सुरुमा गर्नुपर्ने कार्यहरू वार्षिक शैक्षिक योजना निर्माण, शिक्षक तालिम तथा अभ्यास शैक्षिक सामग्री निर्माण तथा खरिद, वार्षिक कार्ययोजना निर्माणलगायतका विषयमा स्पष्ट पारेका थिए ।
त्यस्तै शैक्षिक सामग्री सहित कक्षामा प्रवेश गर्नुपर्ने देखि राम्रो विद्यालय कसरी बनाउनेलगायतका सवालमा पनि पाठकले सहजीकरण गरेका थिए । विभिन्न उपसमितिहरू गठन देखि अभिभावकहरूले ध्यान दिनुपर्ने कुराहरू पनि पाठकले राखेका थिए । स्मार्ट विद्यालयको लागि स्मार्ट प्रधानाध्यापक हुनुपर्ने, सभ्यबोली भाषा व्यवहारले सबैको प्रिय बन्नुपर्नेमा पाठकले जोड दिए । विद्यालयमा केमा जोड दिने केमा ध्यान दिने, योजना तथा कार्यान्वयन सम्बन्धमा पनि पाठकले सहजीकरण गरेका थिए ।कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापागाई, शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक रेश्मीराज अर्याल, रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाइ प्रमुख उपसचिव माधव बन्जाडे, कञ्चन गाउँपालिकाका शिक्षा अधिकारी रमेश भुसाल, पालिकाहरूको प्रतिनिधिमूलक प्रधानाध्यापकहरू मध्ये बुटवलबाट गोविन्द ज्ञवाली, तिलोत्तमाबाट मृगेन्द्र रिजाल, सैनामैनाबाट नेत्रलाल पुरी, देवदहबाट ऋषिश्वर अर्याल, सियारीबाट डिलाराम खनाल, सुद्धोधनबाट कृष्णप्रसाद भुसाल, गैडहवाबाट रामजी आचार्य र कञ्चनबाट शिवकला खनालले धारणा राखेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका शाखा अधिकृत झविलाल वि.क को सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कालिका मानवज्ञान मा.वि का प्रधानाध्यापक दिनेश थापाले गरेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइले रूपन्देहीका सोह्र वटा पालिकाहरूमा पहिलो चरणमा आठवटा पालिकाको कार्यक्रम बुटवलमा र दोस्रो चरणमा आठवटा पालिकाको कार्यक्रम ३० गते भैरहवामा आयोजना गर्ने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीले योजनाबद्ध रुपमा रुपन्देहीको समग्र शैक्षिक सुधारमा गरेको पहल अन्य जिल्लाहरूको लागि पनि अनुकरणीय र स्वागतयोग्य भएकोले भावी दिनहरूमा पनि यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिन नवीन औद्योगिक कदरबहादुर रीता मा.विका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले आग्रह गरेका छन् ।